कञ्चनपुरको भीमदत्त नगरपालिकाविरुद्द अख्तियारमा उजुरी
महेन्द्रनगर: कञ्चनपुरको भीमदत्त नगरपालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी निवेदन परेको छ। नगरपालिकाभित्रका १० वटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउँदा एक करोड रुपैयाँ भ्रष्टाचार भएको दावीसहित पत्रकार खेम भण्डारीले आयोगको महेन्द्रनगर कार्यालयमा उजुरी दर्ता गरेका हुन्।
उजुरी दर्ता गराएपछि भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा १० पुलको डिपिआर बनाउँदा प्रक्रिया नै मिचेर इन्जिनियरिङ परामर्शदाता कम्पनीको छनोट गरिएको र कानुनअनुसार डिपीआर स्वीकृत नहुँदै एक करोड रुपैयाँ भुक्तानी दिएर भ्रष्टाचार गरिएको दाबी गरिएको छ।
नगरपालिकाले वडा नं १९ को कालीखोला पुल–२, वडा नं ९ का क्रमशः कामीकाटे खोला पुल र गताडी खोला पुल, वडा नं. ३ को खनिया खोला पुल, वडा नं. १८ को भासी खोला पुल, वडा नं. १९ को कालीखोला पुल–१, वडा नं. १३ महाकाली नदी तटबन्ध भएर जाने खोलामा पुल, वडा नं. १० को तिलकेनी खोला पुल, वडा नं. ९ र १० बीचको खरिया खोला पुल तथा वडा नं. १५ को गोबरिया खोला पुलको एकसाथ डिपिआर बनाउने भन्दै कन्सल्टेन्सी कम्पनी छनोट गर्दा कानुन मिचेको भण्डारीको आरोप छ।
साथै, नेपाल सरकार भौतिक योजना मन्त्रालय स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सडक पुल शाखाबाट डिपीआर स्वीकृत नगराई मल्ल एण्ड ग्रुप इन्जिनिजयरिङ कन्सलटेन्सीलाई कानुन विपरीत एक करोड रुपैयाँ भुक्तानी दिइएको पनि उनले दाबी गरेका छन्। आफू स्वयं आयोगको महेन्द्रनगर कार्यालयमा उपस्थित भण्डारीले उजुरी दर्ता गराएका हुन्।
निर्माण सम्पन्न भइसकेको वडा नं. १३ को पुलको समेत डिपीआर बनाएर भुक्तानी दिइएको भण्डारीको कथन छ। आयोगले तत्काल आफ्नो उजुरीमाथि कारवाही थाल्ने अपेक्षा पनि उनले विज्ञप्तिमार्फत जाहेर गरेका छन्।
डिपीआर स्वीकृतिका लागि मन्त्रालयमा पठाइएकै अवस्थामा नगरपालिकाले १५ दिनअघि मल्ल ग्रुप एण्ड कन्सल्टेन्सीलाई भुक्तानी दिएको हो। कानुनअनुसार डिपिआर स्वीकृत नहुँदै भुक्तानी दिन पाइदैन।