सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले फर्कायो महाकालीको धार : दार्चुलाका स्थानीय आन्दोलित

२०७८ चैत्र ५, १२:०० खबर संवाददाता

धनगढीः दार्चुलाको महाकाली नगरपालिका–४ स्थित महाकाली पारि एकलौटी तरिकाले नदीको धार परिवर्तन गर्नेगरी निर्माण भइरहेको तटबन्ध रोक्न त्यहाँका स्थानीयले माग गरेका छन्। शनिवार उनीहरुले सदरमुकाम खलंगास्थित आफ्नो भूमिबाट विरोध जनाएका छन्। 

सभामुख, उपसभामुख सहितको प्रदेशसभा सदस्यको टोली अहिले दार्चुलामा छ। तर उनीहरुले भारतीय पक्षले गरेको ज्यादती नदेखे झै गरेको स्थानीयको आरोप छ। ‘काँग्रेस सभापति पनि दार्चुलामा छन्, तर भारतको प्रतिकार जनताले गर्नुपरेको छ,’ स्थानीय लालसिंह धामीले भने। 

यसअघि स्थानीयले तटबन्ध रोक्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराइसकेका छन्।  तर तटबन्ध निर्माण कार्य नरोकिएकाले आफूहरु आन्दोलनमा उत्रिएको स्थानीयहरुले बताएका छन्। यस विषयमा राजनीतिक दल, स्थानीय प्रशासन र सरकार मौन रहेको स्थानीयले गुनासो गरेका छन्। अन्तर्राष्ट्रिय सीमा नदी मिचेर पक्की तटबन्ध बनाइरहेको भारतीय पक्षले करिब सय मिटर क्षेत्रमा साँघुरिएर बग्ने गरी पानीकै धार फर्काएको हो । भारतीय तटबन्ध र नदीको बदलिएको धारका कारण वर्षातमा बाढीले नेपालपट्टि क्षति गराउने जोखिम उच्च बनेको छ । 

कमेन्ट लोड गर्नुस