भियतनाममा अहिले पनि दैनिक एक लाख ६३ हजार नयाँ सङ्क्रमित
हनोई : भियतनाममा अहिले पनि दैनिक एक लाख ६३ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेको पाइएको छ। सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार भियतनाममा पछिल्लो २४ घण्टामा एक लाख ६३ हजार १७४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।
तीमध्ये एक लाख ६३ हजार १६५ जना आन्तरिक रूपमै सरेर सङ्क्रमित भएका हुन भने नौ जना मात्रै देश बाहिरबाट सङ्क्रमित भएका हुन्। नयाँ सङ्क्रमितहरूको देशभरका ६२ ठाउँका रहेका छन्। कोरोनाभाइरसको महामारीको मुख्य केन्द्र भने राजधानी हनोई नै भएको छ। नयाँ सङ्क्रमित मध्ये २३ हजार ५७८ जना त हनोईमा मात्रै भेटिएका हुन्।
त्यसपछि दोस्रो धेरै सङ्क्रमित एनघे प्रान्तमा रहेका छन्। जहाँ पछिल्लो एक दिनमा नौ हजार ९८६ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभरी अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या ७३ लाख ६७ हजार ११२ पुगेको छ। ती मध्ये ४१ हजार ७४० जनाको मृत्यु भएको छ।
दक्षिणपूर्वी एसियाली यस मुलुकमा कुल सङ्क्रमित मध्ये ३८ लाख ६१ हजार ९५९ जना भने सङ्क्रमणमुक्त भइसकेका छन्। देशभरी खोप अभियान तीव्र रुपमा चलाइएको र महामारी न्यूनिकरणका अन्य उपायहरू समेत अपनाइएको भएपनि सङ्क्रमितहरूको सङ्ख्या भने तीव्र रुपमा बढिरहेको छ। -सिन्ह्वा