गाडीको ठक्करबाट २ जना पैदल यात्रुको मृत्यु
रौतहटः गाडीको ठक्करबाट २ जना पैदल यात्रुको मृत्यु भएको छ।
रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडक खण्डअन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट २ जना युवकको मृत्यु भएको छ। बा १७ च ६१६३ नम्बरको स्कर्पियो पिकअपले गएराति साढे ८ बजे हर्साहा चोकमा ठक्कर दिँदा २ जना पैदल यात्रुको मृत्यु भएको हो।
मृत्यु हुनेमा बृन्दाबन नगरपालिका–६ स्थानीय हर्साहा गाउँका बर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षिय हरि कुमार ठाकुर रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन्।
ठक्कर लागि गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट भरतपुर जाने क्रममा राति नै मृत्यु भएको डिएसपी भण्डारीले बताए।
ठक्कर दिने गाडी चालक मौलापुरका संजय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका कुन्दन पाण्डे पक्राउ परेको डिएसपी भण्डारीले बताएका छन्।
मृतकका आफन्तहरुले शवहरु हर्साहा चौकमा राखेर दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।
सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरि चन्द्रनिगाहापुरबाट गौर जाने गाडीहरुलाई वैकल्पिक बाटोको प्रयोग गराइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसंधान भइरहेको प्रहरीले जनाएको छ।