सेती अञ्चल अस्पतालमा नयाँ भवनको सम्झौता भएको एक बर्ष बढी हुँदा पनि निर्माण कार्य अलपत्र
संरचना अभावले विरामीहरुलाई भुईमा राखेर उपचार गर्नुपर्ने वाध्यता
सेती अञ्चल अस्पतालमा नयाँ भवन निर्माणका लागि सम्झौता भएको सवा एक बर्ष हुन लाग्दा पनि निर्माण कार्य अलपत्र परेको छ । संघीय आयोजना कार्यान्वयन ईकाईले हेरिरहेको भवन निर्माणका लागि अघिल्लो बर्षको कार्तिकमा सम्झौता गरिँदा पनि अहिलेसम्म निर्माणको काम अलपत्र परेको छ । सवा एक बर्षसम्म निर्माणको कामले गति लिन नसक्दा सेती अञ्चल अस्पतालमा उपचारका लागि आउने विरामीहरु समस्यामा परेका छन् । समयमै निर्माणको काम सम्पन्न हुनुको सट्टा झन झन पछाडी थकेलिरहेको छ । तर भवन निर्माणलाई गति दिन सम्बन्धित निकाय उदासिन हुँदै आएका छन् ।
रविना–थेगिम जेभीले भ्याट बाहेक १८ करोड ७४ लाखको लागतमा भवन निर्माणको सम्झौता गरेको सवा एक बर्ष हुँदा पनि निर्माणको काम अलपत्र परेको हो । निर्माण कम्पनीले सम्झौता रकमको २० प्रतिशत ‘मोबिलाइजेसन’ खर्च समेत लगिसकेको छ । २०७७ वैशाखसम्म भवन निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण व्यवसायीको लापरवाहीले काम अलपत्र अवस्थामा छ । निर्माण कम्पनीले पेस गरेको कार्य योजना अनुसार हालसम्म स्ट्रक्चरको करिब ३० प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने हो । तर, जग खन्ने काम समेत पूरा हुन नसकेको संघीय आयोजना कार्यान्वय ईकाईका प्रमुख सुरेश वाग्लेले जानकारी दिए ।
भौतिक संरचनाले धान्न नसकेपछि बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहँदै आएकोमा अस्पतालको नयाँ भवन निर्माण कार्य भने अलपत्र छ । निर्माण सम्झौता भएको एक वर्षभन्दा बढी भए पनि भवनको जग हाल्ने काम समेत हुन सकेको छैन । नयाँ भवन निर्माणमा भइरहेको ढिलाइले भौतिक संरचनाको अभावमा बिरामीको चाप बढेका वेला एउटै बेडमा दुई जना तथा भुइँमा समेत राखेर बिरामीको उपचार गर्नुपर्ने अवस्था झन् लम्बिएको अस्पतालका सुचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।
अस्पतालका लागि ५ वटा ब्लकको भवन निर्माण गर्न गत वर्ष कात्तिकमा निर्माण सम्झौता भएको थियो । हालसम्म ३ वटा ब्लकको काम सुरु नै हुन सकेको छैन । बाँकी दुई मध्ये एउटा ब्लकको जग हाल्ने काम मात्र सकिएको छ भने अर्को ब्लकको जग हाल्न खाल्डो खनिएर छोडिएको छ । एउटा ब्लकको जगको बिम बाँधेर काम अलपत्र छाडेको निर्माण कम्पनीले पटक–पटक ताकेदा गर्दा पनि काममा नफर्केपछि सहरी विकासले बैंक धरौटी तान्न खोजेको थियो । बैंक धरौटी जोगाउन काम गर्ने प्रतिबद्धता सहित एक महिनाअघि काम सुरु गरे पनि अहिले पुनः काम रोकिएको छ । तर संघीय आयोजना कार्यान्वयन ईकाइका प्रमुख वाग्ले अहिले काम भईरहेको दावी गर्छन् ।
पर्याप्त पूर्वाधार नहुँदा अञ्चल अस्पतालको सेवा प्रवाहमा समस्या हुँदै आएको छ । अञ्चल अस्पतालले अहिले २ सय ४० शैय्याबाट सेवा दिइरहेको छ । सुदूरपश्चिम प्रदेशको रिफरल अस्पतालका रूपमा रहेको सेती अञ्चल अस्पतालमा हाल दैनिक करिब ५ सय बिरामी उपचारका लागि पुग्ने गरेका छन्। तर विरामी अनुसारका भौतिक संरचना नहुँदा उपचारमा समस्या हुँदै आएपनि नयाँ बन्ने भनिएका संरचनाहरुको काम पनि अलपत्र रहेको छ ।