छ हजार परीक्षण हुँदा ८२ जनामा सङ्क्रमण
काठमाडौँ: कोरोना भाइरसको सङ्क्रमण आज ८२ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा छ हजार १७५ जनामा कोरोना परीक्षण गर्दा ८२ जनामा सङ्क्रमण देखिएको छ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५७४ जना रहेका छन्। पछिल्लो समय २१३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६१ हजार ५६१ पुगेको छ। निको हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन।
मन्त्रालयका अनुसार २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा ललितपुर, काठमाडौँ, चितवन, कास्की र बाँके रहेका छन्। शून्य सङ्क्रमित भएको चार जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन्। नेपालमा सङ्क्रमण दर १७।८ प्रतिशत रहेको छ। हाल होम आइसोलेसनमा चार हजार ४९८ ,संस्थागत आइसोलेसनमा ७६, आइसियुमा ३१ र भेन्टिलेटरमा छ जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा आज एक लाख पाँच हजार ४२२ जनाले खोप लगाएका छन्।