कैलाली, कञ्चनपुर क्षेत्रमा नेपाल–भारत संयुक्त सीमा सर्वेको काम कछुवा गतीमा
विवादीत स्थानमा हात हाल्नै बाँकी
नेपाल– भारत सीमा सर्वेको कामले टुंगो पाएको छैन्। सीमा यताउता भईरहँदा पनि सर्वे टोलीले कैलाली–कञ्चनपुरमा दुई बर्ष हुन लाग्दा दुई देशको सीमा यकिन गर्नै नसकेको हो। नेपाल भारतको संयुक्त सीमा सर्वे टोलीले कैलाली कञ्चनपुरका विवाद रहित क्षेत्रमा मात्रै काम गरिरहेको छ। तर सीमा सर्वेमा नेपालभन्दा भारतको काम सुस्त छ। नेपालको बिजोर नम्बर स्तम्भका काम धेरै भएका छन्। जोर नम्बरका स्तम्भको काम भारतको जिम्मामा हो। तर भारततिर नेपालको भन्दा थोरै स्तम्भको काम भएको छ। नेपाल भारतको सीमामा ठूलो क्षेत्र विवादमा भएपनि सीमा निर्धारणको काम अपेक्षित रूपमा अगाडि बढ्न नसकेको नापीमा संलग्न कैलाली कञ्चनपुरमा खटिएको नापी टोलीका प्रमुख नापी अधिकृत जगदिश भट्टले बताए।
कैलाली कञ्चनपुरमा प्रारम्भिक सीमा सर्भेक्षण (रेकी) को कार्य पूरा गरी नेपाल भारत सीमा सर्वेक्षण टोली फिर्ता भएकोमा नयाँ टोलीलाई फेरि काम सम्पन्न गर्नका लागि खटाईएको छ। अहिले पनि दुवै टोलीले काम सुरु गरेका छन् तर कामको गति निकै सुस्त गतिमा रहेको छ। पहिलो पटक खटाईएको टोलीले कैलाली कञ्चनपुरका १०१ सीमा स्तम्भ मर्मत र ३१ वटा नयाँ सीमा स्तम्भको निर्माण गरेको थियो। कैलाली र कञ्चनपुरका ६५९ सीमा स्तम्भको प्रारम्भिक सर्वेक्षणको कार्य गरेको थियो। मुख्य सीमा स्तम्भ ११२, सहायक सीमा स्तम्भ ४४३ र साना सीमा स्तम्भ १०४ को सर्वेक्षण गरेको संयुक्त सीमा सर्वे टोलीले जनाएको छ। हाल आएर पनि कैलालीको क्षेत्रमा सीमा स्तम्भ मर्मत र निर्माणको काम अगाडी वढिरहेको टोलीका प्रमुख नापी अधिकृत भट्टले बताए।
पहिलो बर्षको सर्वेक्षणका क्रममा १०५ वटा सीमा स्तम्भ हराएका पाईएको थियो। भारतीय टोलीले जोड र नेपाली टोलीले विजोर अंकका आधारमा सीमा स्तम्भ मर्मत गरिरहेको छ। दुवै देशको टोलीले सीमा स्तम्भ सम्म सर्वेक्षणको कार्य गरिदा दुवैतर्फबाट कुनै किसिमको विवाद नरहेको स्थानमा मात्रै काम गरेको छ। विवाद रहेको स्थानहरुको काम त्यसै छोडिएको छ। कैलालीको खक्रौला, लालवोझी, फुलवारी लगायतका स्थानमा विवाद रहेको छ भने कञ्चनपुरको कुतियावर, प्याराताल, आनन्द बजार लगायतका स्थानमा विवाद कायमै रहेको नापी विभागका निर्देशक तथा सुचना अधिकारी दामोदर ढकालले बताए।
कैलालीका तीन ठाउँमा विवाद देखिँदा सीमा स्तम्भ मर्मत हुन पाएको छैन। कञ्चनपुरमा भारतसँग सीमा जोडिएका मुख्य ५ ठाउँमा विवाद रहेको छ। नदी, खोलानाला भएका ठाउँमा बढी विवाद देखिएको छ। प्यारानाला, सुहेली नदी, भागरिया नाला, सडक घाट, झिलमिला, जीमुवा ब्रम्हदेव लगायतका क्षेत्रमा पहिले देखिको सीमा विवाद रहेको छ। नेपाली पक्षले चासो नराख्दा र भारतीय पक्षले सीमा विवादलाई यथावत राख्दै आएकाले यसले निकास नपाएको हो।