सुदूर नेपाललाई विश्वसँग जोड्दै

जसपाको हेडक्वाटर गठन

२०७८ चैत्र १, ०८:१७ रासस

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन सदस्यीय पार्टी मुख्यालय (हेडक्वाटर) गठन गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वाटर गठन गरेको हो।

पार्टीभित्र देखिएका जल्दाबन्दा विषय र तत्काल निर्णय लिनुपर्ने अवस्थामा हेडक्वाटरले आवश्यक निर्णय गर्नेगरी हेडक्वाटर बनाइएको जसपाका कार्यकारिणी सदस्य मोहम्मद ईश्तियाक राईले जानकारी दिए। कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल पार्टीले निर्णय लिनुपर्ने अवस्थामा यो हेडक्वाटरले आवश्यक निर्णय गर्ने जनाइएको छ।  

कार्यकारिणी सदस्य राईका अनुसार बैठकले स्थानीय निर्वाचन निर्देशिका २०७८ को उम्मेद्वार चयनलगायत मापदण्ड पारित गरेको छ। समसामयिक राजनीतिक प्रतिवेदन पारित गरेको छ। त्यस्तै बाँकी रहेका जिल्ला, पालिका, भातृ तथा शुभेच्छुक सङ्गठनको समायोजन चैत १० गतेभित्र टुङ्गो लगाउने निर्णयसमेत बैठकले गरेको छ। जसपाको केन्द्रीय समिति, सङ्घीय परिषद् र प्रदेश समितिको समायोजन सम्पन्न भइसकेको छ।

जसपाको बैठकले आगामी असार १ र २ गते काठमाडौँमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ। जसपाको जिल्ला तथा स्थानीय तहमा बनेका विभिन्न समानान्तर कमिटीहरू खारेज गर्ने निर्णय भएको छ। पार्टी समायोजन गर्ने क्रममा केही जिल्ला तथा स्थानीय तहका पालिकामा समानान्तर कमिटी गठन भएका थिए। जसपाको आइतबार सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार सम्पन्न भएको पनि सो पार्टीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस