बैतडीमा शीतभण्डार निर्माण थालियो
बैतडीः बैतडीको सुर्नया गाउँपालिका–२ सिउडेमा शीतभण्डार निर्माण सुरु भएको छ। सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत गाउँपालिकाले प्रपातालभुमेश्वर नारी एकता बहुउद्देश्यीय कृषि सहकारी संस्थासँग सम्झौता गरी शीतभण्डार निर्माण सुरु गरेको हो। सङ्घीय सरकारको रु ४८ लाख र स्थानीयवासीको रु छ लाख बराबरको जनश्रमदान गरी कूल ५४ लाखको लागतमा शीतभण्डार निर्माण हुने बताइएको छ।
प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी, प्रदेशसभा सदस्य लीलाधर भट्ट र गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले संयुक्तरुपमा शीतभण्डारको शिलान्यास गरेका छन्। स्थानीय किसानले उत्पादन गरेका कृषि उपज फलफूल तथा तरकारी समयमै बिक्री नहुँदा सड्ने तथा बिग्रने भएकाले किसानको मागलाई लक्षित गर्दै शीतभण्डार स्थापना गरिएको उपाध्यक्ष विष्टले बताए।
शीतभण्डार निर्माण भएपछि स्थानीय किसानलाई कृषिउपज सङ्कलन तथा भण्डारणका लागि सहज हुने विश्वास गरिएको छ। यसैबीच शीतभण्डार निर्माणका लागि जग्गा उपलब्ध गराउने दाता स्थानीयवासी गोमती चन्दको परिवारलाई सम्मानसमेत गरिएको छ।