कञ्चनपुरको पुनर्वासमा डम्पिङ साइट निर्माण सुरु, मेयर थापाले गरे स्थलगत निरीक्षण
कञ्चनपुर : कञ्चनपुरको पुनर्वासमा फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) निर्माण गरिँदैछ। बिहीबार पुनर्वास नगरपालिकाका नगर प्रमुख, पुनर्वास-४ र ६ का वडा जनप्रतिनिधिहरुले डम्पिङ साइट निर्माणका लागि स्थलगत अनुगमन गरेका हुन्। अनुगमनसँगै निर्माण कार्य पनि सुरु गरिएको छ।
भारतीय सीमा क्षेत्रसँगै जोडिएको पुनर्वास नगरपालिका-४ मा अवस्थित नमुना सामुदायिक वन क्षेत्रभित्र अस्थायी डम्पिङ साईट निर्माण गर्ने सहमति भएको पुनर्वासका मेयर जीवनराज थापाले बताए। 'जमिनको अभावका कारण निर्माण कार्य ढिला हुन पुगेको हो,' मेयर थापाले भने, 'सामुदायिक वनको सहमति पाएपछि हामीले नगरपालिकाबाट बजेट छुट्याएर डम्पिङ साईटको काम सुरु गरिसक्यौँ।'
स्थायी डम्पिङ साईट निर्माणका लागि नगरपालिकाले ५० लाख बजेट विनियोजन गरी प्रक्रिया सुरु भईसकेको र केही समयमै पुनर्वास-६ सीमा क्षेत्र नजिक निर्माण सुरु हुने जानकारी दिए। चुनाव जितेपछि मेयर थापाले पुनर्वासका हरेक कार्यक्रममा फोहोर व्यवस्थापन गर्न डम्पिङ साइट निर्माण गर्ने कुरा बोल्दै आएका थिए।