बैतडीमा जारी मेयर कप क्रिकेट: थालिगडा र देहिमाडौँ विजयी
बैतडी: बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाचौँ संस्करणको मेयर कप पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्र्तगत शुक्रबार सम्पन्न खेलमा दशरथचन्द नगरपालिका–६ थालिगडा र वडा नम्बर २ देहिमाडौँ विजयी भएका छन्। थालिगडाले वडा नम्बर ८ त्रिपुरालाई पाँच रनले हरायो भने देहिमाडौँले वडा नम्बर १ गुरुखालालाई छ विकेटले पराजित गरेको हो।
थालिगडाले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको त्रिपुराले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०७ रन मात्रै बनाउन सक्यो। त्रिपुराका लागि मनिष धामी र महेन्द्र मार्कण्डले अर्धसतकीय पारे खेले पनि हार टार्न सकेनन्। मनिषले ७८ र महेन्द्रले अविजित ७७ रन जोडे। थालिगडाका जितेन्द्र रावलले दुई विकेट लिए।
त्यसअघि निङ्ग्लाशैनी खेलमैदानमा पहिला ब्याटिङ गरेको थालिगडाले २० ओभरमा छ विकेटको क्षतिमा २१२ बनायो । उसका लागि लोकेन्द्र सिंह रावलले ५६ र विक्रम कार्कीले नटआउट ५० रन हिर्काएका थिए। त्रिपुराका लागि जगदीश मौनी र मुकेश थापाले दुई÷दुई विकेट झारे। खेलका म्यान अफ द म्याच थालिगडाका लोकेन्द्रसिंह रावल चुनिएका स्कोरर तिलक बोहराले जानकारी दिए।
यस्तै अर्को खेलमा दशरथचन्द–२ देहिमाडौँले वडा नम्बर १ गुरुखोलालाई छ विकेटले हराएको छ। गुरुखोलाले दिएको ११२ रनको लक्ष्य देहिमाडौँले ७.२ ओभरमा चार विकेट गुमाएर पुरा गर्यो। देहीमाडौँका लागि भुपेन्द्र रावतले नटआउट ४४, दीपक बोहरा ३२ र सन्तोस बिजलेले ३० रन जोडे। गुरुखोलाका हरिश भाटले दुई विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको गुरुखोला १७.४ ओभरमा १११ रनमा समेटियो। गुरुखोलाका लागि सुरेश भाटले ३३, दीपक भट्टले २३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन्। देहिमाडौँका दीपक बोहराले चार, सन्तोस बिजलेले दुई विकेट झारे। खेलका म्यान अफ द म्याच देहिमाडौँका दीपक बोहरा भए।
दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा फागुन २५ देखि सञ्चालन भएको प्रतियोगिता चैत २ गते सम्पन्न हुने छ। प्रतियोगितामा सहभागी ११ टोलीलाई चार समूहमा विभाजन गरिएको नगरक्रिकेट समितिले जनाएको छ।
उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए।
नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए। प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ। यसअघि गत वर्ष सम्पन्न चौथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई चार रनले स्तब्ध पार्दै वडा नं ४ खलङ्गाले हात पारेको थियो।