सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरको मेयरमा एमालेबाट यी हुन् आकाङ्क्षी

२०७८ फाल्गुन २६, ११:४१ खबर संवाददाता

धनगढी : सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा चुनावी माहोल बढ्न थालेको छ। सरकारले आगामी वैशाख ३० गतेका लागि घोषणा गरेको स्थानीय तह निर्वाचन नजिकिएसँगै चुनावी माहोल बढाएको हो। विभिन्न दलले उम्मेदवार तय गर्न छलफल थालिसकेका छन् भने आकाङ्क्षीहरु पनि लविङमा जुटेका छन्। 

नेकपा एमालेबाट भने यसपटक उपमहानगरपालिकाको मेयर पदमा दर्जन नेताले इच्छा राखे पनि मुख्य तीन जना आकाङ्क्षी देखिएका छन्। गत निर्वाचनमा मेयरमा पराजित तथा वर्तमान जिल्ला उपाध्यक्ष दुर्गाप्रसाद जोशी, निवर्तमान जिल्ला उपाध्यक्ष रणबहादुर चन्द र प्रदेश सदस्य जीवन बमको नाम चर्चामा छ। 

०७४ को निर्वाचनमा नेपाली काँग्रेसका नृपबहादुर वड मेयरमा विजयी हुँदा एमालेका उम्मेदवार दुर्गा जोशीले भने स्वतन्त्र उम्मेदवार गोपाल हमाल र माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाभन्दा कम मत पाएका थिए। मेयर वडले १४ हजार ३२४, हमालले ११ हजार ५२७, रानाले १० हजार २०९ मत पाउँदा जोशीले नौ हजार ९४६ मत पाएका थिए। 

०७४ को निर्वाचनमा पराजित भएपछि जोशी सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समितिको अध्यक्षमा नियुक्त भएका थिए। उनले यसपटक पनि मेयरको टिकटका लागि लविङ थालेका छन्। ‘म अघिल्लोपटक पनि चुनाव लडेको हुँ,’ जोशीले दिनेशखबरलाई भने, ‘यसपटक मरो स्वभाविक दाबेदारी हो। पार्टीले पक्षमा निर्णय गर्ला भन्ने विश्वास छ।’ विगतमा भीम रावल निकट मानिने जोशीले अहिले भने रावललाई छोडिसकेको चर्चा एमालेमा छ।

यस्तै एमालेबाट मेयरका अर्का आकाङ्क्षी चन्द पनि यसपटक टिकटका लागि जोडबल गर्न थालेका छन्। ‘लामो समय एमाले कैलालीको जिल्ला सचिव रहेर काम गर्दा चन्द कार्यकर्तामाझ लोकप्रिय छन्,’ एमाले धनगढीका एक नेताले भने, ‘अहिलेसम्म चन्दले कुनै अवसर पनि पाएका छैनन्। त्यसैले यसपटक मेयरको टिकट चन्दले पाउने सम्भावना बलियो छ।’ मेयरमै आकाङ्क्षा व्यक्त गरेका बमले पनि एमाले कैलालीको उपसचिव भएर काम गरिसकेका छन्।

याे पनि : धनगढी उपमहानगरको मेयरमा काँग्रेसबाट ३ जना आकाङ्क्षी

कमेन्ट लोड गर्नुस