युक्रेनमा बाल अस्पतालमा आक्रमण :विश्व समुदायले बेवास्ता गरेको राष्ट्रपति जेलेन्स्कीको टिप्पणी
रुसले युक्रेनको बन्दरगाह सहर मारिओपोलमा रहेको एउटा बाल अस्पतालमा हवाई आक्रमण गरेको छ। आक्रमणबाट अस्पतालमा ठूलो क्षति भएको त्यहाँको नगर परिषद्ले जनाएको छ।
घटनापछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘बालबालिका भग्नावशेषमुनि रहेका र यो बर्बरतामा विश्वले कहिलेसम्म बेवास्ता गरेर सहयोगी बनिरहन्छ ? भन्दै टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ। केही घाइतेहरूलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ।
त्यसअघि युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले अन्तर्राष्ट्रिय समुदायलाई दक्षिणपूर्वी सहर मारिओपोलमा हस्तक्षेप गर्न र त्यहाँ रहेका झण्डै चार लाख मानिसलाई सहायता दिन आह्वान गरेको थियो। रुसले यसअघि उच्च प्रभावित सहरका नागरिकलाई ६ वटा मार्गबाट अन्यत्र पठाउन १२ घण्टा लामो युद्धविराममा सहमति गरेको थियो।
संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरले अबको प्राथमिकता सीमामा रहेका शरणार्थीलाई सहायता गर्ने हुनुपर्नेमा जोड दिएको छ। रुसले आक्रमण गरेपछि युक्रेन छोडेर बाहिरिएका २० लाख मानिसमध्ये झण्डै आठ लाखजना बालबालिका रहेको सेभ द चिल्ड्रेनले जनाएको छ।
यसैबीच रुसले युक्रेनसँग अर्को चरणको शान्तिवार्ता गर्न चाहेको बताएको छ। रुसका प्रवक्ता डिमित्री पेस्कोभले रुसले युक्रेनसँग जतिसक्दो चाडो वार्ता गर्न चाहेको बताए।
तर त्यसका लागि युक्रेनको तर्फबाट पनि पहल हुनुपर्नेमा उनको जोड छ। यसअघि भएका तीन चरणका वार्ता निश्कर्षविहिन भएका थिए। रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ।