केही साथीहरू निर्वाचन भनेपछि किन डराउँछन्ः नेम्वाङ
काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले सत्तारूढ दलहरू भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागिपरेको आरोप लगाएका छन्। नेम्वाङले विगतमा पनि निर्वाचनमा जाने भन्दा डराउने गरेका केही ‘साथीहरू’ले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको जिकिर गरे।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारूढ दलहरूले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकमार नेपालहरूप्रति संकेत गर्दै उनले ‘केही साथीहरू निर्वाचन भनेपछि किन डराउँछन् ?’ भनी प्रश्न गरे।