सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुस र युक्रेनबीच आज दोस्रो चरणको वार्ता हुने

२०७८ फाल्गुन १८, ०८:२१

रुस र युक्रेनबीच आज बुधवार दोस्रो चरणको वार्ता हुने भएको छ। यसअघि अस्ति सोमवार भएको पहिलो चरणको वार्ताबाट कुनै निष्कर्ष निस्कन सकेको थिएन। तर शान्ति वार्तालाई कायमै राख्नका लागि आज अर्को चरणको छलफल हुन गइरहेको रुसको समाचार संस्था तासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

‘हाम्रो प्रतिनिधिमण्डल वार्तालाई जारी राख्न तयार छ’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्। वार्तामा रुसको नेतृत्व राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने उल्लेख छ। तर दुवै पक्ष आफ्नो अडानमै रहेकाले यो वार्ताबाट पनि धेरै कुराको परिवर्तनको अपेक्षा नरहेको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेष्टोभिचले बताएको खबरमा उल्लेख छ।

रुसले युद्धविराम गरेर आफ्नो भूमिबाट सेना फिर्ता गर्नुपर्ने युक्रेनको अडान छ, युक्रेनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) र युरोपेली युनियनको सदस्य नबन्ने कुराको ग्यारेन्टी गरेमा मात्रै आक्रमण रोक्ने रुसले अडान लिएको छ। 

यसैबीच रुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा लगातार आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छन्। त्यहाँका कैँयौँ सरकारी भवनहरूलाई निसाना बनाइएको र खार्किभमा रहेको नगर परिषद्को भवनमा रुसले क्रुज मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस