कैलालीका युवा प्राणघातक नसर्ने रोगबाट आक्रान्त बन्दै
धनगढी: सुदूपश्चिमको राजधानी कैलालीमा नसर्ने रोगका बिरामी बढ्दै गएका छन्। उमेर ढल्केकाहरू मात्र नभएर युवाहरु पनि प्राणघातक नसर्ने रोगबाट आक्रान्त भएका हुन्। नीजिस्तरबाट सञ्चालन भएका तथा प्रदेश र संघीय सरकारमातहतका अस्पतालमा भर्ना विरामीको तथ्यांक समेट्दा नसर्ने रोगका बिरामीको संख्या झन बढेको स्वास्थ्य अधिकारीले बताएका छन्।
स्वास्थ्य कार्यालय कैलालीले २ सय ३७ किसिमका रोगबाट पीडित भएका बिरामीको तथ्यांक राखेकोमा क्यान्सर, स्वासप्रस्वास, मुटु, कलेजो र सिकलसेल एनिमियाका बिरामीको संख्यामा हरेक वर्ष वृद्धि भइरहेको पाइएको छ। आर्थिक वर्ष २०७५/०७६ देखि चालू आर्थिक वर्षको अर्धवार्षिक तथ्यांक हेर्दा नसर्ने रोगबाट पीडित हुने संख्यामा वृद्धि भएको पाइएको हो।
कैलालीको धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्यांकमा भने उपमहानगरमा मुटुरोगका बिरामीको संख्या ५९ छ। यसैगरी क्यान्सरबाट पीडित हुने ४३ जना, मृगौला रोगबाट पीडित १७ जना, सिकलसेल एनिमियाका २१ जना र टाउको तथा स्पाइनलइन्जुरीका २ गरी जम्मा १ सय ३२ जना दीर्घ रोगबाट पीडित रहेको उपमहानगरपालिकाले जनाएको छ। तर यो संख्या विपन्न नागरिक उपचार सिफारिस विवरणको आधारमा तयार भएकोले पूर्ण तथ्यांक नभएको उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले बताए। ‘उपमहानगरपामलिकाले सञ्चालन गरेका स्वास्थ्य संस्थामा जटिल रोगको उपचार हुँदैन। विपन्न नागरिक उपचार सिफारिस दिएको आधारमा मात्रै हामीले तथ्यांक राखेको छ’ उनले भने।
स्वास्थ्य कार्यालय कैलालीले तयार गरेको तथ्यांकमा जिल्लाभर विभिन्न २ सय ३७ रोगबाट सर्वसाधारण पीडित भएको उल्लेख छ। जिल्लाका स्थानीय तहमा रहेका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रले जनसांख्यिकी स्वास्थ्य सूचना प्रणाली टुमा प्रविष्ट गराएको तथ्यांक मात्रै स्वास्थ्य कार्यालयले उपलब्ध गराएको छ। प्रदेश र संघीय सरकारमातहत र नीजिस्तरमा सञ्चालित अस्पतालको तथ्यांक समावेश गरे बिरामीको संख्या निकै धेरै रहेको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए। ‘हामी कहाँ स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रबाट जनसांख्यिकी स्वास्थ्य सूचना प्रणाली टुमा तथ्यांक अध्यावधिक भएर आउने गर्छ’ उनले भने, ’कैलालीमा नसर्ने रोगको हिस्सा ७० प्रतिशतभन्दा बढी रहेको छ।’
यस्तै स्वास्थ्य कार्यालय कैलालीसँग जिल्लामा पाठेघर खस्ने समस्याबाट आर्थिक वर्ष २०७५/०७६ मा ४ सय ३९ महिला पीडित भएको तथ्यांक छ। आर्थिक वर्ष २०७६/०७७ मा ३ सय ४१, २०७७/०७८ मा २ सय ४१ र चालु आर्थिक वर्षको ६ महिनामा २ सय ४३ महिला पाठेघर खस्ने समस्याबाट पीडित रहेका छन्। जिल्लामा दीर्घ दमबाट ५ हजार ७० जना, स्वासप्रस्वास सम्बन्धी ४ हजार ८ सय ७३ जना, हृदयघातका बिरामी १ सय ७ जना, उच्चरक्तचापबाट ९ हजार ४ सय, मृगौलाका बिरामी २ सय ७४ जना, कलेजोको क्यान्सर १ सय ११ र पत्थरीका बिरामी १ हजार ४ सय ३१ रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ।
तर प्रदेशमा रहेका नीजि तथा सरकारी स्वास्थ्य संस्थाबाट तथ्यांक संकलन गर्न नसकिएको स्वास्थ्य निर्देशनालय दिपायलका निमित्त प्रमुख डाक्टर जगदिश जोशीले बताए। ‘हामीले सबै अस्पतालबाट तथ्यांक संकलन गर्न सकेका छैनौँ’ उनले भने, ’आगामी दिनमा सबै तथ्यांक अध्यावधिक गर्ने गरी काम भइरहेको छ।’
नसर्ने रोगबाट उमेर ढल्केकाहरू बढी प्रभावित हुने गरेकामा पछिल्ला वर्षहरूमा यसले युवा समूहलाई पनि आक्रान्त पार्न थालेको छ। सरकारी अस्पतालको उपचार सेवा स्तरिय नहुँदा महँगो उपचारले नसर्ने रोगको महंगो उपचारले गरीबी पनि बढाएको छ।