लोकतान्त्रिक संस्कारलाई आत्मसात् गर्नुपर्छः काङ्ग्रेसका नेताहरु
राजनीतिक संस्कार र आचरण सुधार नहुंदासम्म पार्टी बलियो नहुने धारणा नेपाली काङ्ग्रेसका नेताले व्यक्त गरेका छन्।
प्रजातान्त्रिक विचार समाजले आज बुटवलमा आयोजना गरेको “लोकतान्त्रिक संस्कार र विचार” विषयक प्रवचन कार्यक्रममा उनीहरुले पार्टी बलियो हुन नेता र कार्यकर्ताले लोकतान्त्रिक संस्कारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए।
उनीहरुले अन्तरद्वन्द्व र गुटबन्दीका कारण पार्टी कमजोर भएको बताउँदै कम्युनिष्टलाई गाली गर्दैमा पार्टी बलियो नहुने धारणा व्यक्त गरे।
सो अवसरमा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक नेतृत्वको गलत आचरणका कारण नेपालको राजनीति आलोचित भइरहेको उल्लेख गर्दै राजनीतिलाई सम्मनित क्षेत्र बनाउन नेतृत्वले राजनीतिक संस्कार र आचरण परिवर्तन गर्नुपर्ने बताए।
पार्टीको आदर्श, सिद्धान्त र संस्कारमा नेता कार्यकर्ता रहन नसक्दा चुनावमा पार्टीले पराजय बेहोरेको बताउँदै उनले अबका दिनमा पनि कार्यशैली नफेरिए पार्टी बलियो नहुने धारणा व्यक्त गरे।
“चार वर्षभित्र महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरी जनताका बीचमा जानुपर्छ”, नेता पौडेलले भन्नुभयो, “पार्टीको आन्तरिक द्वन्द्व र गुटबन्दीको अन्त्यका लागि समयमै महाधिवेशन गर्नुको विकल्प छैन।”
प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले नेतृत्वमा आत्मबल कमजोर हुँदा पार्टी कमजोर भएको बताए।
काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले राजनीतिक संस्कार र आचरण ठीक नभएका नेता पार्टीमा रहेसम्म लोकतान्त्रिक संस्कार बलियो नहुने बताउँदै “राजनीति कमाइ खाने भाँडो भयो, यो परिपाटी अन्त्य नभएसम्म राजनीतिक परिवर्तन सम्भव छैन”, भने।
अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र विचौलियाको प्रभाव बढी भएकाले समस्या भएको उल्लेख गर्दै पार्टीलाई कम्युनिष्टसँग तुलना गर्दैमा संस्कार बदलिन्न, विचारअनुसार व्यवहार हुनुपर्छ बताए।
नेता देवराज चालिसेले काङ्ग्रेसको संस्कार र शैली हारेकोमा चिन्ता व्यक्त गरे। प्रदेशसभा सदस्य रमा अर्यालले पार्टी बलियो हुन व्यक्तिका पछाडि नलागी सिद्धान्त र विचारको पक्षमा लाग्न आग्रह गरे। रासस