रुससँग वार्ता गर्न युक्रेन तयार, युक्रेनी टोलीको यात्रा सुरक्षालगायतको जिम्मा बेलारुसले लिने
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको वार्ता प्रस्ताव स्वीकार गरेका छन्। यसअघि बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव अस्वीकार गरेका युक्रेनी राष्ट्रपति जेलेन्स्की युक्रेन–बेलारुसको सीमामा रहेको प्रि–प्याट नदी नजिक वर्ता गर्न तयार भएका हुन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्की कुनै पनि पूर्वसर्त विना आफ्नो वार्ता टोली पठाउन तयार हुनुभएको बेलारूसी राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। वार्ताको विषयमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र बेलारुसी राष्ट्रपति लुकाशेन्कोबीच टेलिफोनमा कुराकानी भएको हो।
बेलारुसी राष्ट्रपति लुकाशेन्कोले युक्रेनी प्रतिनिधिमण्डलको यात्रा, वार्ता र फर्कने क्रममा बेलारूसी भूभागमा राखिएका सबै विमान, हेलिकप्टर र क्षेप्यास्त्रहरू जमिनमा रहने सुनिश्चित गर्ने जिम्मेवारी लिएको छ।
यसैबीच युक्रेनमा रुसको आक्रमण लगातार चौथो दिन पनि चलिरहेको छ। रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा प्रवेश गरेका बीबीसीले जनाएको छ। रुसी सेनाले खार्किभमा ग्यास पाइपलाइन विस्फोट गराएको छ। रुसले युक्रेनको नोभा काखोभका सहर कब्जा गरेको छ। राजधानी किभ भन्दा बाहिर युक्रेनी सेनाले रुसी सेनालाई कडा टक्कर दिएको छ। तेस्रो ठूलो सहर ओडेसमा जान प्रयास गरेका रुसी सेनालाई युक्रेनी सेनाले रोकेका छन्।
रुसी सेनाको आक्रमणका कारण युक्रेनमा धुवाँ–धुलो बढेको छ। रुसी आक्रमणमा अहिलेसम्म दुई सय १० जनाभन्दा धेरै आफ्ना नागरिकहरूको ज्यान गएको युक्रेनले दाबी गरेको छ। एक हजार एक सयभन्दा धेरै घाइते भएका छन्।
संयुक्त राष्ट्र सङ्घका एक अधिकारीले अहिलेसम्म एक लाख ५० हजारभन्दा बढी युक्रेनी शरणार्थी पोल्यान्ड, मोल्डोभा र रोमानिया पुगेका छन्। यस्तै युक्रेनले चार हजार तीन सय रुसी सेनाको ज्यान गएको दाबी गरेको छ।
आक्रमण गर्नका लागि आफ्नो देशमा आएका रुसी सेनामाथि युक्रेनी सेनाले गरेको प्रतिकारमा चार हजार तीन सय रुसी सेनाको ज्यान गएको युक्रेनले बताएको हो।
युक्रेनकी सहायक रक्षामन्त्री किएभकी हाना माल्एरले फेसबुक पोस्ट गर्नुभएको विवरणमा युक्रेनले २७ वटा रुसी विमान र २६ वटा हेलिकप्टर खसालिदिएको, एक सय ४६ वटा ट्याङ्क र सात सय ६ वटा सशस्त्र सवारी साधन नष्ट गरेको उल्लेख छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी सेनासँग लड्नका लागि युक्रेन आउन विदेशी योद्धाहरूलाई पनि अपिल गरेको छ।
यस्तै युक्रेनले रुसविरुद्धको युद्धमा सर्वसाधारणलाई सक्रिय हुन आग्रह गरेको छ। युक्रेनी सेनाले निर्देशिका जारी गरेर सम्भव भएसम्म उपलब्ध साधनबाट विस्फोटक सामग्री बनाउन सर्वसाधारणसँग अपिल गरेको छ।
यस्तै सडकमा रहेका सङ्केतहरू हटाउन, आवतजावत असहज हुने गरी बाटोमा रुख ढाल्न तथा घरेलु रूपमा बनाउन सकिने विस्फोटक सामग्री रुसविरुद्धको युद्धका लागि तयार पार्न पनि युक्रेनी सेनाले आग्रह गरेको छ।
यसैबीच युक्रेनले इन्टरनेशनल कोर्ट अफ जस्टिसमा रुसविरुद्ध एउटा याचिका दर्ता गरेको छ। एक ट्वीटमा यसको जानकारी दिँदै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेनमाथि आक्रमणका लागि रुसलाई जवाफदेही ठहर गराउनपर्ने बताएको छ। उनले इन्टरनेशनल कोर्ट अफ जस्टिससँग रुसलाई तुरुन्त सैन्य कारबाही रोक्नका लागि भन्न अपिल गरेको बताएको छ।
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो आक्रमणलाई लिएर पश्चिमसँगको तनावको बीचमा रुसी आणविक प्रतिरोधी फौजहरूलाई उच्च सतर्कतामा राख्न आदेश दिएको छ।
आफ्ना शीर्ष अधिकारीहरूसँगको बैठकमा पुटिनले नेटोका प्रमुख शक्तिहरूले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएर आक्रमक बनेकाले जुनसुकै बेला आक्रमण गर्न सक्ने भन्दै आणविक प्रतिरोधी फौजहरूलाई उच्च सतर्कतामा रहन आदेश दिएको एपीले जनाएको छ।