कञ्चनपुरको भीमदत्तलाई ‘बाह्रसिङ्गा नगर’को रुपमा चिनाउने अभियान
कञ्चनपुरः भीमदत्त नगरपालिकालाई बाह्रसिङ्गाको नगरका रुपमा चिनाउनका लागि अभियान सञ्चालन गरिएको छ। पर्यटक आकर्षित गर्ने उद्देश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका बाह्रसिङ्गालाई चिनाउनका लागि नगरपालिकाले अभियान सञ्चालन गरेको हो। नगरपालिकाले बाह्रसिङ्गालाई ब्राण्ड बनाउने घोषणा गरेको छ। “बाह्रसिङ्गालाई नगरको ब्राण्डका रुपमा घोषणा गरेका छौँ”, नगर प्रमुख सुरेन्द्र विष्टले भने, “बाह्रसिङ्गाको प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्छौं। बाह्रसिङ्गाको लोगो तथा पोष्टर कार्यालय, चोक चौराहमा राखेर प्रचार प्रसारकलाई व्यापक बनाउछौँ।” नगरपालिकामा राखिने सबै प्रकाशनमा बाह्रसिङ्गाको लोगो राखिने उनले बताए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वकै ठूलो बाह्रसिङ्गाको झुण्ड देख्न पाइन्छ। बाह्रसिङ्गामार्फत शुक्लाफाँटालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रचारप्रसारसँगै पर्यटन प्रवद्र्धन गर्ने नगरपालिकाको योजना छ। नगर प्रमुख विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रचूर सम्भावनाको धनी रहेकाले त्यसको प्रवद्र्धन कार्यलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताए। आव ०७८÷७९ को नीति तथा कार्यक्रममा समेत नगरपालिकालाई बाह्रसिङ्गाको नगरका रुपमा परिचित गराउने कार्यक्रम समावेश गरिएको थियो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले भीमदत्त नगरपालिकाले बाह्रसिङ्गालाई ब्राण्डका रुपमा प्रयोग गर्ने कार्यसँगै नगरलाई बाह्रसिङ्गा नगर घोषणा गर्ने कार्य निकै सराहनीय रहेको बताए। यस कार्यले निकुञ्जको पर्या–पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र बाह्रसिङ्गाको प्रचारप्रसारमा सघाउ पुग्ने उनको विश्वास छ। ठूलो झुण्डमा निकुञ्जका फाँटमा चर्दै गरेका बाह्रसिङ्गा एकसाथ हेर्न सकिन्छ। बाह्रसिङ्गा हेर्नकै लागि टाढाटाढाबाट पर्यटक यस क्षेत्रमा पुग्ने गर्दछन्। निकुञ्ज बाह्रसिङ्गाका लागि दक्षिण एशियामै प्रसिद्ध छ।
लहरै चर्न लागेका बाह्रसिङ्गा हेर्नका लागि शुक्लाफाँटमा पर्यटक पुग्ने गर्दछन्। निकुञ्जमा सन् २०१२ मा गरिएको गणनामा बाह्रसिङ्गाको सङ्ख्या दुई हजार १७० रहेको थियो। सुरक्षित बासस्थान र चरनको पर्याप्त क्षेत्र भएकाले त्यो सङ्ख्या अहिले बढेको अनुमान छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज २०२६ सालमा सिकार आरक्षका रुपमा स्थापना भई विसं २०३२ मा १५५ वर्ग किमी क्षेत्रफललाई समेटी शुक्लाफाँटा वन्यजन्तु आरक्षका रुपमा घोषणा गरिएको हो। विसं २०३६ सालमा आरक्षको पूर्वतर्फको १५० वर्ग किमी क्षेत्रफललाई विस्तार गरी आरक्षको क्षेत्रफललाई ३०५ वर्ग किमी बनाइएको थियो।
विसं २०७३ फागुन ९ गते शुक्लाफाँटा वन्यजन्तु आरक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रुपमा घोषणा गरिएको हो। निकुञ्ज १७४ मिटरदेखि १३८६ मिटरको उचाइमा पर्छ। यो निकुञ्ज अन्य दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिका लागिसमेत प्रसिद्ध छ।