शिक्षाको बजेट बढाउन मन्त्री पौडेलको आग्रह
काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनारायण पौडेलसँगसँग छलफल गरेका छन्। आयोगको कार्यालयमा भएको छलफलका क्रममा मन्त्री पौडेले विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रमा आवश्यक बजेट नभएको भन्दै शिक्षामा २० प्रतिशत बजेटको आकार बढाउन आग्रह गरे।
मन्त्री पौडेलले विद्यालय शिक्षामा सबै माध्यमिक विद्यालयमा पुस्ततकालय, विज्ञान प्रयोगशाला र सूचना तथा प्रविधि, सबै शिक्षकका लागि तालिमको व्यवस्था, विपन्न छात्रवृत्तिको दायरा र रकममा वृद्धि, सात प्रदेशमा नमूना आवसिय केन्द्रीय विद्यालय स्थापना, विद्यालयको नक्शाङ्कन, अङ्ग्रेजी, गणित र विज्ञानको लागि तीन हजार शिक्षकका लागि दरबन्दी श्रृजनालगायतका कार्यक्रम मन्त्रालयले योजनामा राखेका बताए। उनले बालविकास शिक्षाका सहजकर्ताले तलब भत्ता केन्द्रबाट उपलब्ध गराउने, अस्थायी र उमेर हद नाघेका शिक्षकको लागि ‘गोल्डेन ह्यन्सेक’ कार्यक्रम लागू गर्ने मन्त्रालयको योजना रहेको सुनाउँदै बजेटको आकार बढाउन आग्रह गरे।
यस्तै उच्च शिक्षामा ५० प्रतिशत सरकारी र सामुदायिक कलेजको भवन निर्माण गर्ने, गुणस्तरीय शिक्षक उत्पादनका लागि शिक्षक तयारी पाठ्यक्रम तथा पठनपाठनमा सुधार र शिक्षा विषय अध्ययन गराउने कलेजको स्तरोन्निति, प्राविधिक धार ९९–१२०को शैक्षिक कार्यक्रम ७५३ स्थानीय तहमा पुर¥याउने लक्ष्य रहेको मन्त्री पौडेलले छलफलमा राखे। विज्ञान तथा प्रविधिको क्षेत्रमा सबै प्रदेशमा नाष्टको क्षेत्रीय कार्यालय सञ्चालन गर्ने मन्त्रालयको तयारीसमेत भएको सुनाए।
शिक्षा मन्त्रालयले दिएको विषय सकारात्मक भएको बताउँदै योजना आयोगका उपाध्यक्ष पौडेलले गत आर्थिक वर्षमा भन्दा शिक्षामा बजेट थप गर्ने बताए। “म शिक्षामा बजेट थप गर्ने विषयमा सहमत छु”, उनले भने, “शिक्षामा बजेट थपिदा सुदुरपश्चिम, कर्णालीका विद्यालयको गुणस्तर पनि वृद्धि हुनपर्यो।”
शिक्षामा संविधानले २० प्रतिशतको ग्यारेन्टी गरेको बताउँदै डा पौडेलले यो वर्ष शिक्षामा बजेट थप्ने विषयमा आफू सकारात्मक रहेको बताए। प्रधानमन्त्रीसँग विद्यार्थीका लागि दिवा खाजासहितको कार्यक्रमलाई बजेट थप गर्ने विषयमा छलफल भएको छ, उनले भने, ‘मन्त्रालयले पनि प्राथमिकता तोकेको ठाउँमा हामी सम्बोधन गछौँ।’