नारायण भट्टलाई समर्थन गरे पाकिस्तानको राजदूत बनाइदिने अफर आयो : प्रकाश बम
धनगढी : नेपाली काँग्रेस कैलालीको सभापतिमा उम्मेदवारी घोषणा गरेका प्रकाशबहादुर बमले आफूलाई पाकिस्तानको राजदूत बनाइदिने अफर आएको बताएका छन्। आफ्ना पक्षका कार्यकर्तालाई सम्बोधन गर्दै बमले यस्तो बताएका हुन्।
‘पाकिस्तानको राजदूत बनाइदिन्छु, नारायण भट्टलाई समर्थन गर्देउ पनि भनिएको छ,’ बमले भने, ‘कतिपयले भूमी आयोगको अध्यक्ष बनाइदिने पनि भनेका छन्।’ उनले पाकिस्तानको राजदुत र भूमी आयोगको अध्यक्ष बनाइदिने अफर जिल्ला स्तरकै नेताबाट आएको बताए।
उनले केही समय अगाडि आरजु राणा देउवाले आफूलाई जिल्ला सभापतिमा उम्मेदवारी दिन आग्रह गरेको समेत दाबी गरे। ‘पहिले जिल्ला सभापतिमा उम्मेदवारी दिन मलाई नै भनियो,’ उनले भने, ‘अहिले नारायण भट्ट आधिकारिक हो भनेर चर्चा भइरहेको छ।’
जिल्ला सभापतिमा संस्थापन पक्षकै बमसहित नारायणदत्त भट्ट र भीम बडुवालले उम्मेदवारी दिने बताएका छन्। केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भट्टलाई सभापति बनाउन आग्रह गरेको चर्चा काँग्रेस कैलालीमा छ। जिल्लामा रहेका केन्द्रीय सदस्यहरु पनि भट्टकै साथमा देखिएका छन्। दुई पटक जिल्ला सभापति भइसकेका प्रदेश महामन्त्री नरनारायण शाह भने बमको साथमा छन्।