सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा काँग्रेस अधिवेशनको सरगर्मी : कसलाई क–कसको छ साथ ?

२०७८ फाल्गुन १३, ११:४९ खबर संवाददाता

धनगढी : नेपाली काँग्रेस कैलालीको १५ गते हुने जिल्ला अधिवेशनको सरगर्मी बढेको छ। जिल्ला नेतृत्वका लागि आकांक्षी देखिएका नेताहरु दौडधुपमा व्यस्त छन्। संस्थापन पक्षबाट जिल्ला सभापतिका लागि वर्तमान उपसभापति प्रकाशबहादुर बम, पूर्वउपसभापति नारायणदत्त भट्ट, खेम चौधरी र भीम बडुवालले उम्मेदवारी घोषणा गरेका छन्।

यस्तै संस्थापन इतरबाट पूर्वसचिव रामचरण चौधरी र नेता रामबहादुर कलेलले आकांक्षा देखाएका छन्। नारायणदत्त भट्ट समूहले संस्थापनको आधिकारिक टिम आफ्नो भएको दाबी गरेको छ। ‘प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको इच्छा पनि भट्टलाई जिल्ला सभापति बनाउने छ,’ काँग्रेस कैलालीका एक नेताले भने, ‘कैलालीमा रहेका सबै केन्द्रीय सदस्यहरुले पनि भट्टलाई साथ दिने बताएका छन्।’ ती नेताका अनुसार कैलालीमा रहेका केन्द्रीय सदस्यले सभापतिमा भट्टलाई सहयोग गर्ने निर्णय नै गरिसकेका छन्। 

यसअघिसम्म बमको पक्षमा देखिएका धनगढी उपमहानगरपालिका मेयर तथा पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड अहिले भट्टको पक्षमा खुलिसकेका छन्। वडसंगै केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्ट, केन्द्रीय सदस्य जीवन राना, प्रदेशसभा सदस्य टेकबहादुर रैका, पूर्व क्षेत्रीय सभापति हरिश खड्का, अहिलेका सभापति भीम पडाल, नगर सभापति यज्ञराज उपाध्याय, क्षेत्र नम्बर ४ का सभापति बसन्त रोकाया लगायतका नेताहरु भट्टको चुनावी कार्यक्रममा सहभागि हुन थालेका छन्। 

काँग्रेस सुदूरपश्चिमका महामन्त्री तथा दुईपटक कैलाली जिल्ला सभापति भइसकेका नरनारायण शाह ‘मनु’को कैलालीमा प्रभाव बलियो रहेको काँग्रेसभित्र चर्चा हुन्छ। शाहले भने जिल्ला सभापतिमा प्रकाशबहादुर बमलाई अगाडि सारेका छन्। ‘म सभापति हुँदा उपसभापति भएर काम गरेको अनुभव बमसंग छ,’ शाहले दिनेशखबरलाई भने, ‘मेरो काममा उनले कहिले पनि अवरोध गरेनन्। मैले दुई वर्ष अगाडि नै बमलाई आश्वासन दिइसकेको थिए। त्यसैले जिल्ला सभापतिा बमलाई मेरो साथ रहन्छ।’

संस्थापन पक्षले भट्टलाई आधिकारिक उम्मेदवार बनाए पनि शाह भने बमलाई नै समर्थन गर्ने पक्षमा छन्। शाह जिल्ला सभापतिको उम्मेदवार हुँदा भट्टले लगातार असहयोग गरेका कारण उनी भट्टलाई कुनै पनि अवस्थामा साथ नदिने पक्षमा छन्। बमको प्यानलबाट जिल्ला सचिवमा नृप सुनारले उम्मेदवारी दिने बताएका छन्। जिल्ला सभापतिका उम्मेदवार बमले संस्थापनको आधिकारिक प्यानल आफ्नै भएको दाबी गरे। ‘मलाई केन्द्रीय सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको सहयोग छ,’ उनले दिनेशखबरलाई भने, ‘म उहाँहरुकै सहयोगमा उम्मेदवार भइरहेको छु।’

यता जिल्ला सभापतिका अर्का उम्मेदवार भीम बडुवालले पनि शेरबहादुर देउवाले सहयोगको बचन दिएको दाबी गरेका छन्। ‘पटकपटक सभापतिबाट सहयोगको आश्वासन पाएको छु,’ बडुवालले भने, ‘कार्यकर्ताको साथले पहिलो चरणमै जित्ने विश्वास छ।’ संस्थापन इतर पक्षले भने रामबहादुर कलेललाई उम्मेदवार बनाउने तयारी गरेको छ। ‘आज छलफल गरेर टुंगो लगाउछौंं,’ संस्थापन इतरका एक नेताले भने, ‘कलेललाई सभापतिको उम्मेदवार बनाउनेमा लगभग सहमति भइसकेको छ।’

यस्तै चुनावी सरगर्मी बढ्दै जाँदा काँग्रेस कैलालीभित्र विभिन्न चर्चा चल्न थालेको छ। ‘केन्द्रीय नेतृत्वले जिल्ला सभापतिमा नारायणदत्त भट्टलाई चाहेको भए पनि वर्तमान जिल्ला नेतृत्व भने भट्टलाई सहयोग गर्न तयार छैन,’ काँग्रेस कैलालीका एक नेताले भने, ‘भट्टको साथमा देखिएका कतिपय नेताले चुनावमा भने अन्यलाई नै सहयोग गर्ने सम्भावना पनि छ।’ काँग्रेस कैलालीको चुनाव १५ गतेलाई तय गरिएको छ। शनिबार मनोनयनको तालिका छ। 

कमेन्ट लोड गर्नुस