सुदूर नेपाललाई विश्वसँग जोड्दै

कलाकार संघहरुले गरे सुदूरपश्चिम प्रादेशिक महोत्सव बहिष्कार

२०७८ फाल्गुन १३, १०:२६ खबर संवाददाता

धनगढी : कलाकार संघहरुले अत्तरियामा आजदेखि सुरु भइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सव बहिष्कार गरेका छन्। डेउडा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश र कलाकार मञ्चले सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै महोत्सव बहिस्कार गरेको जनाएका हुन्। 

सुदूरपश्चिममा आयोजना भइरहेको महोत्सवमै यहाँका अग्रज, बहुचर्चित र नयाँ कलाकारलाई बेवास्ता गरेको भन्दै बहिस्कारको घोषणा गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ। सुदूरपश्चिमको कला, संस्कृति र सभ्यताको धज्जी उडाउने कलाकारलाई महोत्सवमा प्राथमिकता दिइएको पनि आरोप लगाइएको छ। 

‘सुदूरपश्चिमका कतिपय कलाकारको पहिला पोस्टरमा फोटो राखेर पछि अर्को पोस्टर सार्वजनिक गर्दा कार्यक्रमबाट हटाइएको घटनाप्रति निन्दा गर्दछौ,’ डेउडा प्रतिष्ठानका अध्यक्ष नरेन्द्र रेग्मी, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदम धामी र कलाकार मञ्चका अध्यक्ष राजेन्द्र शाहले सयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ। 

सुदूरपश्चिममा हुने महोत्सवमा ६० प्रतिशत सुदूरपश्चिमकै कलाकारलाई सहभागी गर्नुपर्ने माग पनि गरिएको छ। यता आयोजक अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले भने महोत्सवमा सुदूरपश्चिमका कलाकारलाई पनि प्राथमिकता दिइएको बताए। ‘चक्र बम, टंक तिमिल्सिना, चेतन बोहरा लगायतका कलाकारलाई महोत्सवमा बोलाइएको छ,’ उनले भने, ‘अन्य प्रदेशका कलाकार ल्याउनुपर्ने हाम्रो पनि बाध्यता हो।’

फागुन १३ गतेदेखि २५ गतेसम्म महोत्सव संचालन हुने बताइएको छ। महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उद्धघाटन गर्ने कार्यक्रम छ। 
 

कमेन्ट लोड गर्नुस