सहिद स्मारक ए डिभजिन लिग फुटबल
काठमाडौँ: सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सातदोबाटोले च्यासल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। सातदोबाटोको जितमा मार्टिन्स अजयी नायक बने। उनले खेलको सातौँ मिनेटमा गरेको एक गोल नै सातदोबाटोका लागि निर्णायक गोल सावित भयो।
यस जितसँगै १३ खेलमा सातदोबोटले २१ अङ्क जोडदै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । पराजित च्यासल १३ खेलमा छ अङ्क जोडेर अङ्क तालिकाको अन्तिम स्थानमा छ। च्यासल यसअघि नै रेलिगेसनमा परिसकेको छ।
त्यसैगरी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ। शेर्पा र फ्रेन्ड्सले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडे। फ्रेन्ड्सले आत्मघाती गोलबाट अग्रता लिए पनि शेर्पाले अन्तिम समयमा गोल गर्दै टोलीलाई हारबाट जोगायो। खेलको ७३औँ मिनेटमा दिवस उराउको आत्मघाती गोलबाट फ्रेन्ड्सले अग्रता लिएको थियो।
खेलको ८९औँ मिनेटमा हिमालयन शेर्पाका विसन गुरुङले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याए। यो बराबरीसँगै हिमालयन शेर्पाले १४ अङ्क जोड्यो भने फ्रेन्ड्सको ११ अङ्क भएको छ।