सुदूर नेपाललाई विश्वसँग जोड्दै

संघीय सरकारले बनाएको फुलबारी बसपार्क सञ्चालन भएन, धनगढी बसपार्क २ वर्षमै भत्कियो

२०७८ फाल्गुन १२, ०७:२६ कमल सावद

धनगढीः संघीय सरकारले धनगढीको फुलबारीमा बसपार्क निर्माण गर्दै गत भदौ ४ गते धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो। सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइले २ करोड ७७ लाखको लागतमा बसपार्क सहितका संरचना निर्माण गर्दै उपमहानगरपालिकालाई हस्तान्तरण गरेको ६ महिना भएको छ। गत कात्तिकमा धुमधामका साथ उद्घाटन गरिएको बसपार्क सञ्चालनमा भने आएको छैन।

धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष तिलुराम चौधरीले हुलाकी क्षेत्रमा एकमात्र बस सञ्चालनमा रहेकाले बसपार्क सुनसान रहेको बताए। ‘बसपार्कमा बस छैनन,’ उनले भने, ‘बसपार्क छ। सञ्चालनमा आएको छैन। अहिले फुलबारी बसपार्क सुनसान छ। एक मात्र बस सञ्चालनमा छ। त्यो पनि बसपार्कमा जाँदैन।’

सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले देव एण्ड सायर–मसिना जेभीमार्फत जेठ १४ गते फूलबारी बसपार्क निर्माणको काम पूरा गरेको हो। २०७४ असार ३० गते सम्झौता भएको फुलबारी बसपार्कमा टरमिनल भवन, एउटा घण्टाघर, पर्खाल, १० वटा शौर्यबक्ती, छोटो तथा लामो दूरी सवारी पार्किङ र मोटरसाइकल पार्किङका पूर्वाधार निर्माण गरिएका हुन्।

हुलाकी सडकमा सञ्चालनमा रहेका सवारी पार्किङ गरिने भनिए पनि उपमहानगरपालिकाले ठेक्का सम्झौता गर्न नसकेको हो। धनगढी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टले फुलबारी बसपार्क सञ्चालनको ठेक्का नभएको बताए। `ठेक्का भएको छैन,´ उनले भने, `बस समितिहरुलाई बस हाल्न भनेका छौं। पार्किङ शुल्कका बिषयमा कुरा भएको छैन। हामी छलफलमै छौ।´

फुलबारी बसपार्क सञ्चालन गर्न नसकेको उपमहानगपालिकाले धनगढी बसपार्क मर्मतमा बेवास्ता गरेको छ। उपमहानगरपालिकाको वडा नम्बर ४ मा रहेको बसपार्कमा पुर्ननिर्माणको कार्य सम्पन्न भएको दुई वर्षमै कालोपत्रे उप्किएको भए पनि मर्मत नगरिएको हो।

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइले १ करोड १९ लाख ९२ हजारको लागतमा धनगढी बसपार्क निमाण गर्दै धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो। राजेन्द्र रुद्रावती जेभीले बसपार्क निर्माणको काम पूरा गर्दै दुई वर्ष पहिले सहरी विकासमार्फत उपमहानगरपालिकालाई सञ्चालनका लागि हस्तान्तरण गरेकोमा भत्किएको हो।

धनगढी उपमहानगरपालिकाका इन्जिनियर भट्टले बसपार्क मर्मत गर्ने बताए। `बसपार्कमा खाल्डा परेका छन्,´ उनले भने, `त्यो मर्मत गर्छौं। सहरीको बजेट आएको छैन।´ उपमहानगरपालिकाले वार्षिक ५० लाख रुपैयाँ धनगढी बसपार्कबाट आम्दानी गर्दै आएको छ। ७० वटा बस पार्किङ क्षमताको बसपार्कबाट दैनिक दुई सय ५० बढी बस छुट्ने गरेका छन्।

यातायात प्रालिहरुले बसपार्कबाट हुने आम्दानीको केही प्रतिशत रकम बसपार्क संरक्षण र मर्मतमा खर्च हुनुपर्ने माग गर्दै आएका छन्।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस