युक्रेन संकट र रुसः अहिलेसम्म के भयो ?
काठमाडौंः युक्रेन र रुसबीचको गतिरोध युद्धको स्थितिमा पुगिसकेको छ। रुसका राष्ट्रपतिको आदेश (युक्रेनमा विद्रोहीको कब्जा भएको इलाका डोनेत्स्क र लुहान्स्कलाई मान्यता) पछि विश्वव्यापी स्तरमा घटनाक्रम हरपल फेरिएको छ।
पछिल्ला केही घण्टाका प्रमुख घटनाक्रममाथि एक नजरः
–ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति जो बाइडेन रुसका राष्ट्रपति पुटिनसँग शिखर सम्मेलनमा भाग नलिने स्पष्ट पारिसकेको छ।
–अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले पनि बिहिबार आफ्ना रुसी समकक्षीसँग हुने बैठक रद्द गरेका छन्। उनले एक बयानमा रुसले युक्रेनमाथि हमला सुरु गरिसकेको अमेरिकाले मान्यता राख्ने भएकोले अब यसको कुनै औचित्य नभएको बताएका छन्।
–अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले रुस युक्रेनमाथि पूरा प्रभावले आक्रमणा गर्ने अन्तिम बिन्दुमा भएको र २४ घण्टाभित्रै युक्रेनमाथि हमला पनि गर्न सक्ने अत्यधिक सम्भावना भएको बताएका छन्।
–अमेरिका र बेलायतबाहेक केही अन्य देशले पनि रुसमाथि प्रतिबन्ध लगाएका छन्। क्यानडा र जापानले पनि रुसविरुद्ध आर्थिक प्रतिबन्ध लागू गरेका छन्।
–अमेरिकाका लागि रुसका राजदूत एन्तोनोवले रुसको रिया नोवोत्सी न्यूज एजेन्सीलाई दिएको एक अन्तरवार्तामा यी प्रतिबन्धको असर अमेरिकामा पनि पर्ने बताएका छन्।
–रुसको संसदले राष्ट्रपति पुटिनलाई देशबाहिर सशस्त्र बलको प्रयोग गर्न अनुमति दिएको छ।