ट्रकले च्यापिएर महिला प्रहरी जवानको मृत्यु
काठमाडौं : बाँकेको कोहलपुर चौराहमा ट्रकले च्यापिएर एक प्रहरी जवानको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ वर्षीया प्रहरी जवान कविता बीसीको मृत्यु भएको हो। ड्युटीमा खटिएकी उनको ट्रक पल्टिएर च्यापिँदा मृत्यु भएको बताइएको छ।
शम्सेरगञ्जबाट कौशिलानगर बाँकेतर्फ जाँदै गरेको ना ३ ख ६४३६ नम्बरको ट्रक गएराति १० बजे कोहलपुर चौराहमा मोड्ने क्रममा एक्कासी पिल्टिँदा बीसी च्यापिएर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बाँकेले जनाएको छ। ट्रक चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले बताएको छ।