सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय तहमा बैक नहुँदा कामकाज प्रभावित

२०७५ माघ ७, १०:११ खबर संवाददाता

डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ। 
जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक अन्य आठ स्थानीय तहमा हालसम्म पनि बैंक पुग्न सकेका छैनन्। जिल्लाका बडीकेदार, बोगटान, सायल, पूर्वीचौकी, आर्दश, केआइसिंह, जोरायल गाउँपालिका तथा शिखर नगरपालिकामा हालसम्म बैंक स्थापना हुन सकेका छैनन्। 
स्थानीयतहमा बैंक स्थापना नहुँदा सामान्य सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम सिलगढी तथा कैलाली जानुपर्ने बाध्यता रहेको बडीकेदार गाउँपालिका विपिनगरका स्थानीय रोजबहादुर कलेलले बताए। उनले भने, “गाउँपालिकामा बैंक छैनन्, सामान्य राजश्व बुझाउन पनि दुई दिन लगाएर जिल्ला सदरमुकाम सिलगढी वा कैलाली जानुपरेको छ।” राज्यको पुनःसंरचनापश्चात् सरकारले मुलुक भरका सबै स्थानीय तहमा बैंकिङ तथा वित्तीय संस्था सञ्चालनमा ल्याउने भनी निर्णय गरेको भए पनि यहाँका स्थानीयतहमा बैंकिङ सेवा सञ्चालन नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन्। सरकारले नेपाल राष्ट्र बैंकलाई सबै स्थानीय तहमा बैंकिङ सेवा शुरु गर्ने निर्देशन दिएको भए पनि ग्रामीण क्षेत्रमा सरकारी तथा निजी बैंकले हालसम्म सेवा शुरु नगर्दा यहाँ सेवाग्राही मर्कामा परेका हुन्।
स्थानीय तहमा बैंकिङ सेवा प्रभाह नहुँदा शिक्षक, कर्मचारी, व्यापारी मात्र होइन गाउँपालिकाका कामकाजसमेत प्रभावित बन्दै गएको जोरायल गाउँपालिका५ गड्सेराका वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए। यहाँका स्थानीय तहका गाउँमा आर्थिक कारोवार नहुने भएपछि स्थानीय अहिले पनि जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दीपायललगायतका क्षेत्रमा गई सेवा लिन बाध्य भएको केआइसिंह गाउँपालिका–५ का स्थानीय चेतराज भट्टले बताए। उता जिल्ला सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकले स्थानीय तहमा बैंक स्थापना गर्ने भने पनि सुरक्षाका कारण विस्तार गर्न नसकिएको जनाएको छ।

नागरिक समाजले विद्यालय अनुगमन गर्ने

केआइसिंह गाउँपालिकाकाको वडा नं ५ मा रहेको नागरिक समाजले आफ्नो वडामा भएका विद्यालयमा अनुगमन गर्ने भएको छ। वडा कार्यालयमा आयोजना गरिएको स्थानीय सभाको बैठकले गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि विद्यालय अनुगमन गर्ने भएको हो। अनुगमनका लागि पाँच सदस्यीय समितिसमेत बनाएको सो वडाका वडाअध्यक्ष रामचन्द्र राणाले जानकारी दिए। उनका अनुसार अनुगमन समितिको संयोजकमा दुर्गासिंह रावल र सदस्यमा वडासदस्य ममता सार्की, चेतबहादुर रावल, स्वास्थ्य शाखाका उपप्रमुख विश्वेश्वर यादव र गणेश शाही रहेका छन। रासस
 

कमेन्ट लोड गर्नुस