बैतडीमा बढ्यो आत्महत्या, पछिल्लो ८ महिनामा १८ जनाले गरे देह त्याग
बैतडी: पछिल्लो समय बैतडीमा आत्महत्या गर्नेको संख्या बढीरहेको छ। चालु आर्थिक वर्षको साउन यता मात्रै जिल्लामा १८ जनाले देहत्याग गरेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीमा ५ र इलाका प्रहरी कार्यालय पाटनमा आत्महत्याका १४ मुद्दा दर्ता भएका छन्। बैतडीमा विष सेवनका ३ मुद्दा तथा पाटनमा झुण्डिएको मुद्दा १४ र विष सेवनको १ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
सामाजिक, स्वास्थ्य जस्ता विभिन्न कारणहरूले मानिसहरूले आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। परिवारमा कोही सदस्यको एकोहोरिने जस्ता असामान्य व्यवहार देखाए परिवारका अन्य सदस्यले तत्काल मनोपरामर्श तथा उपचारमा ध्यान दिए आत्महत्याको दर धेरै कम हुने मनोविश्लेषकहरू बताउँछन्।
यस्तै जिल्लामा यो आर्थिक वर्षमा ७९ ओटा मुद्दा दायर भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीमा ३९ र इलाका प्रहरी कार्यालय पाटनमा ४० गरी जम्मा ७९ ओटा मुद्दा दर्ता भएका हुन्। बैतडीमा बहुविवाह सम्बन्धी १, जबरजस्ती करणी ३, भवितव्य २, अभद्र व्यवहार ९, जबरजस्ती करणी उद्योग अन्तर्गत ३ वटा मुद्दा दर्ता भएका छन्। यस्तै कर्तव्य ज्यान सम्बन्धी २, विष सेवनका घटना ३, सवारी ज्यान सम्बन्धी ४, ज्यान मार्ने उद्योग १, नकावजनी चोरीका २ र सवारी अङ्गभङ्ग सम्बन्धी १ मुद्दा दर्ता छन्।
यस्तै इलाका प्रहरी कार्यालय पाटनमा भवितव्यं ज्यान सम्बन्धी ९, फुटकर ज्यानका ५, झुण्डिएर मृत्यु सम्बन्धी १४, कर्तव्य ज्यान ४, विष सेवन १, अभद्र व्यवहार २, जबरजस्ती करणीका २ र चोरी सम्बन्धी १ मद्दा दर्ता छन्।