सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय तहको चुनाव लगत्तै संघ र प्रदेशको निर्वाचनः प्रधानमन्त्री

२०७८ फाल्गुन ७, १२:४४ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन्। प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरुबाट मुलुकको शासन व्यवस्था संचालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जाने सरकारको योजना रहेको बताए।

७२ औँ प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौँ सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले कोभिड १९ को प्रकोप नियन्त्रण गर्ने काममा सरकारलेसफलता हाँसिल गरेको दाबी समेत गरे। स्वास्थ्य पूर्वाधार सेवाहरुको बिस्तार र सुदृढिकरणगरी कोभिड महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको उनले बताए। प्रधानमन्त्री देउवाले सबैको समन्वयात्मक प्रयासबाट सो महामारीलाई छिट्टै परास्त गर्न सकिने विश्वास समेत व्यक्त गरे।

प्रधानमन्त्री देउवाले मुलुकको दू्रत गतिका लागि आर्थिक विकास र रुपान्तरण गर्न सरकारले चाहिरहेको पनि बताए। उनले सुन्दर नेपाल बनाउने सपनालाई साकार पार्न प्रजातन्त्र दिवसले सबैमा प्रेरणा प्रदान गर्ने शुभकामना पनि व्यक्त गरेका छन्। यसैबीच ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरि मनाइएको छ। समारोहमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीसहितको उपस्थिति रहेको थियो।
 

कमेन्ट लोड गर्नुस