सुदूर नेपाललाई विश्वसँग जोड्दै

कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

। फोटो स्रोत ।
२०७५ माघ ६, ०२:१८

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विपक्षी नेता फेलिक्स शिसेकेडी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ। उनका निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले चुनावमा धाँधली भएको आरोप लगाउँदै चुनावी नतिजा खारेज गर्न र पुनः मतगणनाको माग गर्दै अदालतमा मुद्दा दायर गरेको थिायो।
संवैधानिक अदालतको आदेशमा नेता शिसेकेडीले सामान्य बहुमत प्राप्त गरी चुनावमा विजयी भएको जनाएको छ। अदालतको आदेशसँगै शिसेकेडीलाई मुलुकमा लामो समय शासन गरेका नेता जोसेफ काबिलाबाट शान्तिपूर्ण प्रक्रियामार्फत सत्ता सम्हाल्न बाटो खुलेको छ।  निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले शिसेकेडी र राष्ट्रपति जोसेफ काबिलाले चुनावमा व्यापक धाँधली गरी विजयी भएकाले त्यस्तो चुनावी नतिजा अस्वीकार गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गरेको थियो।
“म अन्तर्राष्ट्रिय समुदायसमक्ष यो चुनावी नतिजा अस्वीकार गर्न र नयाँ सत्तालाई मान्यता नदिन आग्रह गर्दछु, किनभने यसले कङ्गोली जनताको वास्तविक प्रतिनिधित्व गरेको छैन,” फायुलुले भने। उनले आफू नै मुलुकको एकमात्र बैधानिक राष्ट्रपति भएको दाबी पनि गरे। कङ्गोको स्वतन्त्र चुनाव आयोगले यसै महिनाको शुरुमा शिसेकेडी विजयी भएको भन्दै प्रारम्भिक नतिजा सार्वजनिक गरेको थियो, तर यस विरुद्ध मुलुकभित्र र बाहिर चुनौती दिइएको थियो। अफ्रिकी युनियनले चुनावको अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाई गर्न आग्रह गरेको थियो भने फायुलुले संवैधानिक अदालतमा चुनावी नतिजा खारेज गर्न माग गर्दै मुद्दा दर्ता गरेको थियो।
आइतबार, संवैधानिक अदालतले फायुलुको दाबी प्रमाणमा आधारित नरहेको जनाएको छ। फायुलुले पुनः मतगणना गर्न गरेको माग पनि तथ्यपरक नरहेको अदालतको भनाई छ। न्यायाधीश नोल किलोम्बाले भने, “राष्ट्रिय चुनाव आयोगले आधिकारिक र वास्तविक नतिजा सार्वजनिक गरेको छ।” अदालतको आदेश आश्चर्यजनक मानिएको छैन, किनभने अदालतको गठन नै राष्ट्रपति काबिलाका सहयोगीहरुले बनेको छ।
शिसेकेडीका सयौं समर्थक अदालतको परिसरमा प्लेकार्ड लिएर भेला भएका थिए। उनीहरुले “विदेशीको हस्तक्षेप स्वीकार्य छैन” र “कङ्गो स्वतन्त्र राष्ट्र हो” भन्नेजस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए। अदालत परिसरमा दङ्गा प्रहरी तैनाथ गरिएको थियो। अदालतको आदेश लगत्तै राजधानी किन्सासा समेतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था अझ सुदृढ पारिएको छ।  यसअघि, निर्वाचन आयोगले नवनिर्वाचित राष्ट्रपतिको सपथ ग्रहण आगामी मङ्गलबारका लागि तोकेको थियो। निर्वाचन आयोगले जनवरी १० मा गरेको घोषणा अनुसार शिसेकेडीले करिब ३९ प्रतिशत र विपक्षी फायुलुले करिब ३५ प्रतिशत मत प्राप्त गरेको थियो। रासस
 

कमेन्ट लोड गर्नुस