सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा नेपालको विजयी सुरुआत

२०७८ फाल्गुन ६, ०२:५३ खबर संवाददाता

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा नेपालले विजयी सुरुआत गरेको छ। अल अमेरात क्रिकेट मैदानमा शुक्रबार ओमानलाई ३९ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो।

योसँगै समूह बी मा रहेको नेपालको शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। १ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमा अल आउट भयो।

नेपालका कमलसिंह ऐरीले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए। अभिनाश बोहरा र जितेन्द्र मुखियाले १-१ विकेट लिए।

त्यसअघि ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट ग्राउन्ड-१ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो। नेपालका आरिफ शेखले ३७ बलमा २ चौका सहित सर्वाधिक ३८ रन बनाए।

विश्वकप छनोटमा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी र टेस्ट टोली आयरल्यान्ड, युएई, बहराइन र जमर्नी समूह ए मा छन्। हरेक समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। ८ देशबीच हुने प्रतिस्पर्धाबाट फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छन्।

कमेन्ट लोड गर्नुस