इमर्जिङ्ग नेपालको आइपिओ बाँडफाँट
काठमाडौँ : इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन९आइपिओ० बाँडफाँट गरेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले काठमाडौँमा आज शेयर बाँडफाँट गरेको हो।
बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्कासन गरेको आइपिओमा कूल २३ लाख ३१ हजार २५८ ले दुई करोड ६४ लाख ३० हजार ३३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। आवेदन दिएकामध्ये दुई हजार ५५२ को आवेदन रद्द भएको र बाँकी २३ लाख २८ हजार ७०६ योग्य आवेदकमध्ये ५१ हजार ६७० आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ। यसरी वितरण गरेर बाँकी रहेको आठ कित्ता शेयर २० कित्ताभन्दा बढी आवेदन गर्ने आठ जनालाई एकएक कित्ताका दरले बाँडफाँड गरिएको छ।
कम्पनीले गत माघ २६ गतेदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यमा पाँच करोड ५५ लाख ६० हजार मूल्य बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता आइपिओको बिक्री खुला गरेको थियो। जसको पाँच प्रतिशतअर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषलाई र दुई प्रतिशतअर्थात् ११ हजार ११२ कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी पाँच लाख १६ हजार ७०८ कित्ता शेयर खरिदका लागि आवेदन दिन सर्वसाधारणलाई आह्वान गरेको थियो।
बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको बेवसाइट९मेरो शेयर०मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ।