सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका स्थानीय तहको विकास खर्च निराशाजनक

२०७५ माघ ५, ०६:२० सीपी लोहीया

चालु आर्थिक बर्षको ६ महिना बितिसक्दा बैतडीका स्थानीय तहको विकास खर्च निराशाजनक रहेको पाइएको छ। दशओटा स्थानीय तह रहेको बैतडीमा विकास खर्चको स्थिती हेर्दा निराशाजनक रहेको पाइएको हो। स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणका कामले गति लिने आश गरिएको भएपनि सो अनुसार काम भने हुन सकेको छैन्। 
जिल्लाको डिलाशैनी गाउँपालिकाले ६ महिनाको अवधिमा ८ करोडको विकास बजेट मध्ये ७० लाख जति मात्रै खर्च गरेको छ। दोगडाकेदार गाउँपालिकाले १० करोडको पूँजीगत बजेट मध्ये ५५ लाख मात्रै पहिलो चौमासिकमा खर्च गरेको कार्यालयका खरीदार अम्बादत्त जोशीले बताए। 
जिल्लाको पाटन नगरपालिकाले १६ करोड ८ लाख ५३ हजार ११० विकास बजेट मध्ये अहिले सम्म ६२ लाख ४४ हजार २१६ रुपैया मात्रै खर्च गरेको छ। यो विकास बजेट ४.८४ प्रतिशत मात्रै खर्च हो। पाटन नगरपालिकाको नगरसभा नै ढिलो भएकाले विकास बजेट सोचे अनुसार खर्च हुन नसकेको नगरपालिकाका लेखा अधिकृत भुपेन्द्रसिंह धामीले जानकारी दिए। 
यस्तै दशरथचन्द नगरपालिकाले ६ महिनाको अवधिमा १५ करोड १० लाख ६० हजारको पूँजीगत बजेट मध्ये ४ करोड ६१ लाख ४० हजार ३४६ रुपैया खर्च भएको जनाएको छ। यस्तै मेलौली नगरपालिकाले ११ करोडको बजेटमा ४ करोड जति खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र नेगीले जानकारी दिए। 
यस्तै पुरचौंडी नगरपालिकाले १२ करोड ६० लाख ६७० को पूँजीगत बजेट मध्ये ५३ लाख १५ हजार ९ सयय मात्रै खर्च भएको जनाएको छ। यस्तै शिवनाथ गाउँपालिकाले ११ करोड ५५ लाख ८ हजार ५० मध्ये पूँजीगत बजेट खासै खर्च नभएको जनाएको छ। 
यस्तै पञ्चेश्वर गाउँपालिकाले ८ करोडको पूँजीगत बजेट मध्ये २ करोडको हाराहारीमा खर्च भएको जनाएको छ। जिल्लाको सिगास गाउँपालिकाले १० करोड ८८ लाख ६० हजार पूँजीगत बजेट मध्ये १ करोड ८० लाख मात्रै खर्च भएको गाउँपालिकाका लेखापाल जगदीश्वर कलौनीले बताए। विकास बजेट कम खर्च भएको प्रति सर्वसाधारणले चिन्ता समेत व्यक्त गरेका छन्। 
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस