डोटीमा कृषक समूहलाई साईन नेपालद्वारा मिनि थ्रेसर सहयोग
डोटी: मानवीय सेवामा अनेकौँ प्रयास (साईन नेपाल) नामक संस्थाले डोटीको पूर्वीचौकीका कृषक समूहहरुलाई कृषिमा आधुनिकीकरण गर्न मिनि थ्रेसर सहयोग गरेको छ। मंगलबार पूर्वीचौकी गाउँपालिका-४ वडा कार्यालयको प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै १२ ओटा कृषक समूहहरुलाई प्रति समूह एक मिनि थ्रेसर सहयोग गरेको हो।
कार्यक्रमका प्रमुख अतिथी रहेका वडाध्यक्ष नवराज खड्काले संस्थालाई धन्यवाद व्यक्त गर्दै थ्रेसर प्राप्त गर्ने कृषक समूहहरुलाई यी साधनहरुबाट सोचेभन्दा बढी लाभ लिन र सदुपयोग गर्ने कुरामा विश्वस्त रहेको बताए। पहाडी क्षेत्रका बस्तीहरुमा धान, गहुँ र कोदो चुट्दा महिलाहरुलाई हुँदै आएको कठिनाइको सामना गर्न संस्थाले केयर एण्ड रिलिफ परियोजनाअन्तर्गत मिनि थ्रेसर वितरण गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए।
पालिकाका कृषकलाई कृषिमा आधुनिकीकरणतर्फ उन्मुख गराउन १० लाख ७५ हजार बराबरको मिनि थ्रेसर वितरण गरेको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिए। संस्थाले सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पालिकाहरुमा शिक्षा, स्वास्थ्य, आयआर्जन, कृषि र आपतकालिन क्षेत्रमा निरन्तर जनता माझ प्रत्यक्ष गएर कार्यक्रम गर्दै आएको बताएको छ।
संस्थाका अध्यक्ष भक्तराज जोशीको सभाध्यक्ष तथा पूर्वीचौकी-४ का वडाध्यक्ष नवराज खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वडा नम्बर ३ का वडा सदस्य नरबहादुर थापाले गरेका थिए।