विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा
काठमाडौंः विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकप छनोट खेल्ने अन्तिम १४ सदस्यीय टोलीको घोषणा गरेको हो। क्यानका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले मंगलबार क्रिकेटर गुल्सन झालाई समेट्दै अन्तिम १४ को टुंगो लगाएका हुन्। चार देशीय टी–२० शृंखला खेल्न नेपाल ओमानमा छ। टिममा परेसँगै गुल्सन पनि ओमान जानेछन्।
शुक्रबारबाट सुरु हुने विश्वकप छनोटका लागि अन्तिम १४ मा सन्दीप लामिछाने, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ सेख, आसिफ सेख, अविनाश बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव, लोकेश बम, सागर ढकाल र गुल्सनकुमार झा रहेका छन्। त्यसैगरी कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी रिजर्व सूचीमा परेका छन्। नेपालले शुक्रबार आयोजक ओमानसँग भिड्दैछ। ८ टोली सहभागी ग्लोबल छनोटमा फाइनलमा पुग्ने दुई टोलीले अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन्।