रुसद्वारा युक्रेनी सीमाबाट केहि सेना फिर्ता गर्ने घोषणा
काठमाडौँ: रुस र युक्रेनबीच जारी तनावका बीच रुसी रक्षा मन्त्रालयले ठूलो घोषणा गरेको छ। समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार रुसी रक्षा मन्त्रालयले युक्रेनको सिमानामा तैनाथ केही सैनिक सैन्य अभ्यासमा भाग लिएर आफ्नो बेसमा फर्किएको बताएको छ।
तर, योसँगै रुसमा ठूलो मात्रामा सैन्य अभ्यास जारी रहने पनि बताइएको छ। विगत केही महिनादेखि रुसले युक्रेनको सीमामा ठूलो संख्यामा सैनिक तैनाथ गरेको छ। अमेरिकालगायत धेरै पश्चिमी देशहरूले रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेको आरोप लगाएका छन्। तर, रुसले यसलाई अस्वीकार गर्दै आएको छ।
धेरै देशले रुसलाई युक्रेनमा आक्रमण गरे नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन्।