बैतडीमा चितुवा मृत भेटियो
बैतडीः बैतडीमा एक चितुवा मृत भेटिएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका ५, गिरेगाडामा पाँच फिट एक इन्च लामो चितुवा मृत अवस्थामा फेला परेको हो।
चितुवालाई मङ्गलबार बैतडी सदरमुकाम ल्याएर खाल्डोमा गाडिएको छ। स्थानीयले मृत अवस्थामा फेला परेको चितुवाकाबारेमा प्रहरीलाई खबर गरेपछि प्रहरीको टोलीले मृत चितुवा डिभिजन वन कार्यालय बैतडीलाई बुझाएर खाल्डोमा गाडिएको हो। चितुवाको खुट्टा र पछाडिको भाग केही जङ्गली जनावरले खाएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी श्यामसुन्दर माझीले बताए।
बैतडीको तल्लोस्वराड क्षेत्रको पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकामा चितुवाले मान्छेको शिकार गर्दैआएको क्षेत्र हो।