सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते हुने

फाइल फोटो
फाइल फोटो
२०७८ माघ २९, ०८:०२ रासस

काठमाडौं : नेपाल कराते महासङ्घको तत्वावधान तथा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ र जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको संयुक्त आयोजनामा प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता आगामी चैत अन्तिम साता हुने भएको छ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व भट्टराईको स्मृतिमा हुन लागेको प्रतियोगिता आगामी चैत २४ देखि २६ गतेसम्म हुने आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी र एपिएफ) गरी १० टोलीको सहभागिता रहनेछ। एकल र टोली कातासहित पुरुषमा ११ तथा महिलामा १० गरी २१ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। पुरुषमा ११० र महिलामा १०० गरी २१० खेलाडीको सहभागिता रहनेछ।

टोली च्याम्पियनले रु एक लाख पुरस्कार प्राप्त गर्नेछ भने उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई पनि नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ। नेपाल कराते महासङ्घका कार्यवाहक अध्यक्ष दावा गुरुङले यसै प्रतियोगिताबाट चीनमा हुने १९औँ एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिनेसमेत बताए।

करातेका प्रमुख प्रशिक्षक हीरासिंह डङ्गोलले प्रत्येक तौल समूहबाट चार खेलाडीका दरले २१ स्पर्धामा ८४ खेलाडीको प्रारम्भिक छनोट गरिने जानकारी दिए।

राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्षसमेत रहनुभएका प्रतियोगिताका मुख्य योजनाकार मीनकृष्ण महर्जनले कोभिडले सुस्ताइरहेको खेलकुदलाई चलायमान बनाउन प्रतियोगिताले मद्दत पुग्ने जनाउँदै खेलाडीको मनोबल उकास्न पनि प्रतियोगिता सहयोगी साबित हुने विश्वास व्यक्त गरे। प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा हुनेछन्।

कमेन्ट लोड गर्नुस