खडेरीले खेतीयोग्य जमीन बाँझै
लगातारको खडेरीले बैतडीका विभिन्न स्थानका खेत बाँझै रहेका छन्। समयमा हिउँदे वर्षा नहुँदा खेत बाँझै छोड्नुपरेको किसानको गुनासो छ। सिँचाइको सुविधा नभएका ठाउँमा हिउँदे वर्षा नभएकाले गएको चार वर्षयता हिउँदेबाली लगाउन नपाएको पञ्चेश्वर गाउँपालिका–३ का बलराम तिरुवाले बताए।
पञ्चेश्वरको वडा नं १, २, ३, ४ र ६ मा अधिकांश खेत बाँझै रहेका पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए। चार वर्षयता किसान खेत बाँझै छोड्न बाध्य रहेका छन्। शिवनाथ गाउँपालिकाका पनि अधिकांश खेत सिँचाइको अभावमा बाँझै रहेका गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए।
गाउँपालिकाका उच्च भागमा सिँचाइको सुविधा नहुँदा किसान खेत बाँझै छोड्न बाध्य भएका उनले बताए। हिउँदमा प्रत्येक वर्ष पर्ने खडेरीले किसानको जीविकोपार्जनमा समेत समस्या आएको छ। रासस