कैलालीको घोडाघोडीमा योजनैपिच्छे २० प्रतिशत कमिसन
एक वर्षमा ५ करोड भ्रष्टाचार
धनगढीः कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विजयी भएका थिए। नगर प्रमुख ममताप्रसाद चौधरीले आफूनिकट तथा एमालेका कार्यकर्तालाई मात्र उपभोक्ता समितिको अध्यक्ष बनाउने गरेको भन्दै बेलाबेला आरोप लाग्ने गरेको थियो। चालू आर्थिक वर्षका योजना कार्यान्वयन गर्दा भने नगरपालिकाले प्रति योजनाबाट नगरपालिकाले कम्तीमा २० प्रतिशत रकम घुस माग्दै आएको आरोप लागेको छ। सुदूरपश्चिमका स्थानीय तहका प्रमुख, उपप्रमुखहरु निर्वाचनका लागि रकमको जोहो गर्न लागेको गुनासो बढ्दै गएको बेला घोडाघोडीमा प्रतिसतका रुपमा योजनबाट रकम मागेको आरोप लागेको हो।
नेपाली कांग्रेस नेतृ रिता चौधरीका अनुसार नगरपालिकामा भ्रष्ट्राचार मौलाउँदै गएको छ। ‘प्रतिशतमा कमिसनको कुरा व्यापक रुपमा आएको छ। तलदेखि माथिसम्म मिलेका हुन्छन्। आफ्ना मान्छेलाई मात्रै योजना दिन्छन’ उनले भनिन्।
घोडाघोडी नगरपालिकाका १२ वडामध्ये ७ वटामा नेकपा एमालेबाट जितेका वडाध्यक्ष छन्। माओवादी केन्द्र र नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका वडाहरुमा पनि एमालेका कार्यकर्ता उपभोक्ता समितिको अध्यक्ष बन्ने गरेका छन्।
नगरपालिकामा एमालेको नेतृत्व भएकाले योजना अनुगमनसमेत नगरी पास हुने गरेको स्थानीय कलक सिँहले बताए। ‘योजनामा उपभोक्ता समितिबाट प्रतिशतमा घुस लिइएको छ। योजनाहरु गुणस्तरीय नभएपनि पास हुने गरेका छन्। हामीले प्राविधिक लिएर पनि अनुगमन गरेका छौं’ उनले भने, ‘उपभोक्ता समितिले कम्तिमा २० प्रतिशत दिनुपरेको छ। कुनै–कुनैबाट त ५० प्रतिशत पनि लिइएको छ। हामीसँग प्रमाणहरु छन्।’
योजनाबाट मात्रै ५ करोड भ्रष्ट्राचार !
घोडाघोडी नगरपालिकामा चालू आर्थिक वर्षमा मात्रै २ सय ५० बढी योजना छन्। ती मध्ये २ सय ३० बढी योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन हुँदैछन्। योजना शाखाले मात्र झण्डै २५ करोडका योजना कार्यान्वयन गरिरहेको छ। यसरी नगरपालिकाले झण्डै ५ करोड रुपैयाँ उपभोक्ता समितिबाट कमिसन भन्दै उठाउने गरेको देखिएको छ। उक्त रकम नेकपा एमालेको माथिल्लो तहसम्म जाने दाबी गरिएको छ।
तर नगरपालिकाकी उपप्रमुख प्रेमकुमारी थापाले उक्त कुरा अस्वीकार गरेकी छन्। योजना अनुगमनमै रहेको बताउदै उनले भनिन्, ‘म योजना अनुमगन मै छु। विद्यालय, पुस्तकालय र अन्य भौतिक संरचना निर्माणमा मैले अनुगमन गरेकी छु। मेरो अनुगमनबीना योजना पास भएका छैनन्। हामीले कमिसन पनि मागेका छैनौ।’