सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्व नम्बर एक प्रिन्सको गुनासो– जन्मभूमि, सुदूरपश्चिमबाट अहिलेसम्म सहयोग पाएन

२०७८ माघ २३, ०४:१८ खबर संवाददाता

पदमराज जोशी, धनगढी:  प्रिन्स दाहाल गतवर्ष नै विश्व वरियतामा तेस्रो स्थानमा पुग्न सफल भएका थिए। विश्व ब्याडमिन्टन महासंघले हालै सार्वजनिक गरेको नयाँ वरियता क्रममा उनै दाहाल जुनियरतर्फको विश्वका एक नम्बर खेलाडी बनेका छन्।  ओलम्पिकको मान्यता प्राप्त खेलमा नेपालको कुनैपनि खेलाडी (सिनियर होस् या जुनियर) विश्व वरियता क्रममा नम्बर १ पोजिसन प्राप्त गरेको यो पहिलोपटक हो। १८ वर्षकै उमेरमा धेरै सम्भावना देखाएका प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुनियर(यू–१९) तर्फको वरियता क्रममा पहिलो स्थान प्राप्त गर्दै नयाँ इतिहास कोरेका छन्। 

दार्चुलाका जन्मेका दाहालले पाँच वर्षको उमेरदेखि नै ब्याडमिन्टन खेल्न थालिसकेका थिए। उनले दार्चुलाबाट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए। त्यसपछि उनी दार्चुलाबाट पढाइको सिलसिलामा काठमाडौं गए। दिदी र मामासँग काठमाडौंमा बस्दा उनको ब्याडमिन्टनप्रतिको रुचि झन बढ्दै गयो र उनले निखारिने मौका पनि पाए।  उनको खेलकुद पृष्ठभूमि भएको परिवार  हो। उनका बुवा नारायण दाहाल पनि क्षेत्रीय ब्याडमिन्टन खेलाडी थिए। त्यसैले ब्याडमिन्टन प्रिन्सको रगतमा नै छ। जसलाई उनले बुवाको हात समाउँदै सानै उमेरदेखि निखार्ने काम गरे। प्रिन्स सम्झिन्छ्न्, ‘बुवाले पहिला आफू गेम खेल्न जाँदा मलाई पनि सँगै लग्नु हुन्थ्यो। मलाई अरु खेलमा फूटबल मनपर्छ। तर बुवा ब्याडमिन्टनको खेलाडी भएकोले यसमै बढी रुचि जाग्यो।’ 

अहिले एक नम्बर होल्ड गरेका उनले भारतमा गएर खेल्दा मात्रै विश्वमा ब्याडमिन्टन खेलाडीको वरियता हुन्छ भन्ने थाहा पाएका थिए। वरियताको विषयमा थाहा पाउने बित्तिकै एक नम्बरको हुनसक्छु भन्ने ठानेको उनी बताउँछन्। 
समयक्रम बित्दै गयो। उनको प्रगति चुलिँदै गयो। जुनियर प्रतियोगिताहरूमा उनले उपाधि थप्दै गए। त्यसै क्रममा उनले थाइल्यान्डमा वैदेशिक प्रशिक्षण गर्न पाए। सन् २०१८ मा दुबई इन्टरनेशनल सिरिजमा यू–१५ तर्फ स्वर्ण जितेपछि उनको चर्चा झन हुन थाल्यो। उनले घरेलु प्रतियोगितामा नेपालका सिनियरतर्फका नम्बर १ खेलाडी रत्नजीत तामाङलाई समेत पराजित गरिसकेका थिए। पछि उनले २०१९ को १३औं सागका पनि कास्य पदक पाएका थिए।  

प्रिन्ससँग विश्व नम्बर १ खेलाडी बनिराख्न अब बढीमा अर्को एक वर्षको समय छ। उनले अरू कसैलाई उछिन्न दिएनन् भने अर्को एक वर्ष उनी जुनियरतर्फको विश्व नम्बर १ खेलाडी बनिराख्ने छन्। त्यसपछि भने उनी सिनियर खेलाडीको वरियताको लागि प्रतिस्पर्धा गर्नेछन्। उनी भन्छन्, ‘त्यसपछिका चुनौती त झन् धेरै हुनेछन्। मैले अनुभवी र पाका खेलाडीहरूसँग टक्कर गर्नुपर्ने छ।’ 

अबको एक वर्षमा आफ्नो शीर्ष वरियता जोगाइराख्न उनले विश्व ब्याडमिन्टन महासंघ(बीडब्लूएफ) को मान्यताप्राप्त धेरै भन्दा धेरै प्रतियोगिताहरू खेल्नुपर्ने हुन्छ। फेरि धेरै प्रतियोगितामा सहभागिता जनाउनुको अर्थ धेरै पैसाको खर्च गर्नु पनि हो। विश्वभरी आयोजना हुने प्रतियोगिताहरुमा सहभागिता जनाउन धेरै खर्च लाग्नेगर्छ। त्यसैले सबै प्रतियोगिता खेल्न पाउने सम्भावना बढाउन सरकार र सम्बन्धित निकायहरुले उनलाई सहयोग गर्नुपर्ने देखिन्छ। त्यसो त उनलाई अहिले निजी क्षेत्रबाट पनि राम्रो सहयोग भइरहेको छ। नेपालकै पूर्वका विभिन्न कम्पनीहरुले उनलाई ब्रान्ड एम्बेस्डर भनेर सम्मान गरिरहेका छन् र सक्ने जतिले आर्थिक सहयोग पनि प्रदान गरिरहेका छन्। 

तर सुदूरपश्चिम, जहाँ उनको जन्मभूमि हो त्यहाँबाट भने अपेक्षित सहयोग नभएको प्रिन्सको अनुभुती छ। ‘देशले नै गर्व गरिरहेको बेला मेरो जन्मभूमिले पनि गर्व गर्ला नै। तर पनि जसरी अरु ठाउँबाट सहयोग प्राप्त गरिरहेको छु, त्यस्तो सहयोग पश्चिमबाट अहिले छैन’,  उनी भन्छन्, ‘आशा छ, अगामी दिनमा त्यो सहयोग पाउने छु। र, सबैलाई आग्रह पनि छ सक्दो सहयोग गरिदिनुस्।’

कमेन्ट लोड गर्नुस