अछाममा हिउँ खेल्न सरकारी गाडीको प्रयोग गरेपछि...
धनगढीः अछाममा सरकारी गाडीको चरम दुरुपयोग भएको भेटिएको छ। सरकारी गाडीहरु निजी काममा प्रयोग गरेको पाइएको हो। स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीले आफू अनुकूल सरकारी गाडीको प्रयोग गर्ने गरेका छन्। उनीहरुले मेला, महोत्सव लगायतका निजी काममा समेत सरकारी गाडी प्रयोग गरिरहेका हुन्। तर, कुनै पनि निकायले गाडी दुरुपयोगको नियमन गरेको छैन।
शनिबार मात्रै सदरमुकाम मंगलसेनमा ठूलासेनमा हिमपात भएपछि रमाइलो गर्न, हिउँ खेल्न र घुमघाम गर्नेको घुइँचोमा सरकारी मोटरसाइकल र गाडी भेटिएका छन्। त्यहाँ सरकारी गाडी व्यक्तिगत कामका लागि प्रयोग गरेको एक प्रत्यक्षदर्शीले बताए। जनप्रतिनिधिका परिवार र आफन्तले सरकारी मोटरसाइकल तथा गाडी कुदाएको उनले बताए। वडाध्यक्षका मोटरसाइकलको धेरैजसो दुरुपयोग भएको स्थानीयले बताएका छन्।
सार्वजनिक बिदा र शनिबार सरकारी गाडीहरू चलाउन नपाइने भए पनि त्यसलाई नियमन गर्न भने सकेको देखिदैन। सार्वजनिक खर्च घटाउन सरकारले सरकारी गाडी सञ्चालनमा यसअघि नै कडाइ गरेको थियो। सार्वजनिक बिदाको दिन सरकारी गाडी सञ्चालन गर्न अनुमति लिनुपर्ने प्रावधान छ। सरकारी कामबाहेक शनिबारको दिन सरकारी सवारीसाधन चलाउन नपाइने नियमको सरोकारवालाले नै उल्लंघन गरेका छन्। अति आवश्यक कामका लागि प्रशासन कार्यालयको अनुमतिले मात्र सरकारी कामका लागि सञ्चालन गर्न पाउने व्यवस्थाविपरीत कार्य हुने गरेको छ।