डडेल्धुराका विक्रमको दक्षिणकालीमा मृत्यु, गरिब परिवारको सहारा बन्यो नवदुर्गा–काठमाडौं सेवा समाज
धनगढी: डडेल्धुराका बिक्रमबहादुर धामी केही समय पहिले भारतमा मजदुरी गर्थे। त्यहि रहेका बेला उनले कराँते पनि सिकेका थिए। तर कोरोना भाइरसको संक्रमणपछि उनी आफ्नो घर डडेल्धुराको नवदुर्गा गाउँपालिका– ३ भट्गाउँ फर्केका थिए। धेरै समय घरमा खाली बसेपछि उनले विदेश जाने निधो गरे।
सोही प्रक्रियाका लागि उनी राजधानी काठमाडौं हानिएका थिए। तर उनको विदेश जाने सपना पनि साकार हुन सकेन। भिसा नआएपछि उनी काठमाडौंमै मजदुरी गरिरहेका थिए। गत पुस १९ गते पनि उनी एउटा घरको ढलानको काम सकेर कुपण्डोलमा रहेको डेरामा फर्किरहेका थिए। सोही क्रममा उनी आफू सवार ट्र्याक्टरबाट खस्न पुगे। सोही ट्र्याक्टरको टायरले कुल्चिदा उनी घाइते भए। ट्र्याक्टर चालकले उनलाई बेवारिसे अवस्थामै छाडेर गएका थिए। त्यसपछि उपचारका लागि बीर अस्पताल विक्रमलाई पुर्याइएको थियो। तर गम्भीर घाइते भएका उनको पुस २२ गते मृत्यु भएको थियो।
आर्थिक समस्याका कारण उनको परिवार काठमाडौं जान सकेन। तर दाह संस्कारका लागि ३० हजार भने पठाएको थियो। घरबाट कोही आउन नसकेपछि नवदुर्गा डडेल्धुरा–काठमाडौं सेवा समाज अगाडि सर्याे। उक्त संस्थाका अध्यक्ष कृष्ण ऐरले धामीको शव बुझेर काठमाडौंमै दाहसंस्कार गरे। सेवा सामाजले त्यति मात्रै गरेन, उसले उनाई किचेर भाग्ने ट्र्याक्टर चालकविरुद्ध महानगरिय प्रहरी बृत्त किर्तिपुरमा जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा प्रहरीले ना५त ४६९२ नम्बरको ट्र्याक्टरका चालक विनोद यादवलाई पक्राउ गरी अनुसन्धान थाल्यो।
यादवलाई पक्राउ गराएपछि सेवा समाजले मृतक धामीको परिवारलाई क्षतिपूर्तिबाफत ५ लाख ५० हजार दिलाउन सफल भएको छ। निरन्तरको खटाई र सबैको साझा प्रयासले उक्त कार्य सम्भव भएको नवदुर्गा डडेल्धुरा–काठमाडौं सेवा समाजका अध्यक्ष कृष्ण ऐरले बताए। राहत स्वरूप प्राप्त क्षतिपूर्ति मृतकका दाजु दानबहादुर धामीलाई माघ १८ गते हस्तान्तरण गरिएको सेवा समाजका सदस्य राजेश कठायतले बताए। साथै मृतक बिक्रमबहादुर धामीको परिवारले दाहसंस्कारका लागि घरबाट पठाएको रकम समेत फिर्ता गरेको सेवा समाज सल्लाहकार समिति संयोजक गगन सि ऐरले बताए। उनले दाह संस्कारको सम्पूर्ण खर्च सेवा समाज आफैले व्यहोरेको बताए।
मृतक बिक्रमबहादुर धामीको परिवारले मृतकको दाह संस्कारका लागि घरबाट पठाएको रू ३०,००० समेत मृतकको परिवार लाई फिर्ता गरि दाहा संस्कारको सम्पुर्ण खर्च समेत सेवा समाजआफैले व्यहारेको थियोे ।