सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका २८ वर्षीय माधवः एक वर्षको मेहनतले शाखा अधिकृतको नतिजामा एक नम्बर

२०७८ माघ १९, ०४:२५ नारायण अवस्थी

धनगढी: निजामती सेवामा खुला प्रतिस्पर्धाबाट छनोट हुने राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदमा देशभरबाट यो वर्ष ४ सय ८५ जनाको नाम सिफारिस भएको छ। सुदूरपश्चिम प्रदेशबाट मात्रै यो वर्ष ३६ जना शाखा अधिकृतमा लोकसेवाबाट सिफारिस भएका छन्। सिफारिस भएका ४ सय ८५ जनामध्ये कञ्चनपुरको बेलौरीका माधव भण्डारी पहिलो नम्बरमा सिफारिस भएका छन्।  बेलौरी नगरपालिका–४ घर भएका भण्डारी लोकसेवा आयोगको शाखा अधिकृतको नतिजामा एक नम्बरमा सिफारिस हुन सफल भएका हुन्।

भण्डारीको प्रारम्भिक शिक्षा बेलौरीकै सिद्धार्थ स्कुलबाट सुरु भएको थियो। त्यसपछि कक्षा १० सम्मको शिक्षा उनले बुटवलबाट पूरा गरेका थिए। प्लस टुको अध्ययन भने काठमाडौंको केमसी कलेजबाट पूरा गरेको उनले बताएका छन्। चितवनको रामपुर कलेजबाट कृषिमा स्नातकोत्तर गरेका भण्डारीले त्रिभुवन विश्व विद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिमा समेत स्नातकोत्तर गरेका छन्। २८ वर्षीय भण्डारीले ८ वर्ष अगिदेखि आफ्नै कृषि इन्स्टिच्युट खोलेर अध्यापन गर्दै आइरहेको बताएका छन्। 

चितवनको मेघौलीमा कृषि फार्म खोलेर ६ वर्षदेखि उद्यमशीलता गरिरहेका भण्डारीले काम गर्ने सिलसिलामा प्रशासन संयन्त्रको महत्त्व बुझेर लोकसेवाको तयारी गर्न थालेको बताए। केवल एक वर्षको मेहनतले लोकसेवा पास गर्न सफल भएको बताउने भण्डारी दोस्रो प्रयासमा नै अधिकृतको पहिलो नम्बरमा नाम निकाल्न सफल भएका हुन्। ‘पहिलो पटक शाखा अधिकृतको परीक्षा दिँदा समय व्यवस्थापन गर्न सकेन। दुई प्रश्नको उत्तर लेख्न छुटेको थियो’ माधव भण्डारी भन्छन्, ‘दोस्रो पटक भने समय व्यवस्थापन गर्न सके। मैलै सबै प्रश्नको उत्तर लेखेको थिए।’ शाखा अधिकृतको परीक्षा सजिलै पास गर्नसक्छु भन्ने लागेको भएपनि सबै परीक्षार्थीलाई उछिन्दै पहिलो हुन्छु भन्ने नलागेको भण्डारी बताउँछन्। ‘एक नम्बरमा सिफारिस हुनु मेरा लागि सुखद संयोग भएको छ’ उनले दिनेशखबरसँग कुरा गर्दै भने।

उनले व्यक्तिको क्षमता अनुसार पढ्ने तरीका फरक–फरक हुने हुँदा आफ्ना कमजोरी पत्ता लगाएर लोक सेवाको तयारी गर्नुपर्ने बताएका छन्। उनी भन्छन्, ‘एक वर्षको तयारीको दौरानमा ६ महिना तथ्याङ्क सुत्रवद्ध गर्न लाग्यो। ४ महिना भने पढेको कुरा दोहर्यान लाग्यो।’ लोक सेवाको परीक्षा अन्य परीक्षा जस्तो नहुने भएकोले प्रतिस्पर्धीले सबैलाई जित्नेगरी तयारी गर्नुपर्ने सुझाव भण्डारीले दिएका छन्।

आध्यात्मप्रति विश्वास र रुचि भएको बताउने उनले लोक सेवा परीक्षा पास गर्न निरन्तरको व्यवस्थित पढाई आवश्यक हुने बताएका छन्। ‘म दैनिक ६ देखि १० घण्टा तयारी गर्थे।’   भण्डारीले सूचना तथा तथ्यलाई व्यवस्थित गरेर सरल र स्पष्ट भाषामा उत्तर लेख्न सके लोक सेवा पास गर्न सहज हुने सुझाव दिएका छन्। ‘तर लोकसेवा पास गर्न सूचनाको भण्डार थाहा भएर मात्रै हुँदैन। सूचना र तथ्यको प्रस्तुती कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ’ उनी भन्छन्, ‘स्तरीय भाषा, छोटो र स्पष्ट लेखन क्षमताको विकास गर्नसके परीक्षामा कुनै पनि प्रश्न छुट्दैन।’ 

लोकसेवा पास गर्न चाहने व्यक्तिले निरन्तर व्यवस्थित भएर अध्ययन गरे सफलता मिल्ने भण्डारीको विश्वास छ। उनले रोजेको ठाउँमा पोस्टिङ पाउने छन्। लोक सेवा पास भएपछि इमान्दार भएर राष्ट्रको काम गर्ने माधवले बताएका छन्। ‘नागरिकको सेवा गर्न हाँसीखुसी सेवा प्रवाह गर्ने संकल्प लिएको छु’ उनले भने।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस