सुदूरपश्चिममा थप २४६ जनामा कोरोना संक्रमण
धनगढीः सुदूरपश्चिम प्रदेशमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ सय २८ जनाको एन्टिजेन र २ सय १४ जनाको पीसीआर परीक्षण गर्दा आज २४६ जनामा संक्रमण पुष्टि भएको हो।
आज संक्रमण पुष्टि भएकामध्ये ३४ जना आज नै भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर ६६२ जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ५०८ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ८१ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।
यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा एकजना संक्रमितले ज्यान गुमाएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको सेती अस्पतालमा मृत्यु भएको हो।