सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना परीक्षण गर्न नै मान्दैनन् पुर्चौडीवासी

२०७८ माघ १८, ०४:३४ खबर संवाददाता

धनगढी: बैतडीको पुर्चौडी नगरपालिकामा कोरोना भित्रभित्रै सल्किएको भएपनि बिरामी भएका व्यक्तिहरूले परीक्षण नगर्दा बस्तीमा संक्रमण फैलिएको आशंका गरिएको छ। कोरोना पुष्टी भएर एकान्तबास बस्नुपर्ने डरले स्थानीयले परीक्षण नै नगर्ने बताइएको छ। 

१० वडा रहेको बैतडीको सबैभन्दा ठूलो नगरपालिकामा कोरोना संक्रमित रहेको भएपनि परीक्षण गरेर संक्रमितलाई अलग्याउने काम नभएको कुवाकोटका स्थानीय कर्ण कुँवरले दिनेशखबरलाई बताए। ‘कुवाकोटसहित हरेक टोलमा कोरोनाका सम्भावित बिरामी छन् तर नगरपालिका नै परीक्षण गर्न उदासिन हुँदा भित्रभित्रै संक्रमण व्यापक भएको छ’ उनले भने, ‘केही दिन अगाडि कुवाकोटमा एकैदिन १८ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको थियो।’

झण्डै २० हजार जनसंख्या रहेको नगरपालिकामा कोरोना परीक्षण गर्न पर्याप्त एन्टिजेन किट रहेको हाट स्वास्थ्य चौकी इन्चार्ज दिपेन्द्र धामीले बताए। नगरपालिकाको चार स्वास्थ्य चौकीबाट कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको भएपनि स्थानीयले आफूखुशी सिटामोल खाने गरेको धामीले जनाए। ‘पुर्चौडीको हाट स्वास्थ्य चौकी, तल्लादेही, भटना र कुवाकोट स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाइएको छ’, उनले भने, ‘कोरोना पुष्टी भए आइसोलेसनमा बस्नुपर्छ भन्ने ठानेर बिरामी परीक्षण गर्न नै आउँदैनन्।’

पूरै नगरपालिकामा कोरोना फैलिएको छ तर, स्थानीय सरकार भने यो विषयमा बेखबर रहेको स्थानीयले गुनासो गरेका छन्। तर नगर प्रवक्ता दले धामीले भने परीक्षण गर्ने काम भइरहेको दाबी गरेका छन्। ‘सामान्य रूघाखोकी र ज्वरोको लक्षणसहितका बिरामी नगरपालिका बढेका छन्’, उनले भने, परीक्षण पनि भइरहेको छ। तीन÷चार दिनमा बिरामी निको पनि भइरहेका छन्। आत्तिनुपर्ने अवस्था छैन।

कमेन्ट लोड गर्नुस