६ महीनामा चौध लाख राजश्व सङ्कलन
छोटी भन्सार दार्चुलाले चालू आर्थिक वर्षको छ महीनामा रु १४ लाख बढी राजश्व सङ्कलन गरेको जनाएको छ। दार्चुला सदरमुकाम खलङ्गाको धारचुलासँग जोडिएको भन्सार कार्यालयले सोमबारसम्म रु १४ लाख ५९ हजार ५२५ राजश्व सङ्कलन गरेको निमित्त प्रमुख नरसिंह बडालले बताए।
कार्यालयले साउनमा रु दुई लाख १३ हजार ९४९, भदौमा रु एक लाख ५७ हजार १५४, असोजमा रु तीन लाख ३० हजार ९१२, कात्तिकमा रु तीन लाख ३२ हजार २७९, मङ्सिरमा रु एक लाख ३० हजार ५३० तथा पुस महीनामा रु दुई लाख ९४ हजार ७०१ सङ्कलन गरेको छ।
दार्चुलाको एक मात्रै छोटी भन्सार कार्यालयको रूपमा खलङ्गा रहेको छ। यहाँको मूल भन्सार कार्यालय अहिले पनि बैतडीको झुलाघाट हो। दार्चुलाको जौलजीवी, दत्तुमा विगतदेखि नै नेपाल भारत जोडिएको झोलुङ्गे पुल भए पनि भन्सार कार्यालय छैन।
यस्तै गत वर्ष व्यास गाउँपालिका–६ तिरगमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ भने यो आर्थिक वर्षमा लेकम गाउँपालिकाको वडा नं ३ लालीमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ। योसँगै चार ठाउँमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको भए पनि छोटी भन्सार कार्यालय स्थापनाको लागि पहल नभएको बडाले बताए। रासस