पर्यटन क्षेत्रको नीतिगत सुधार गर्न सङ्घीय संसद् तयार : सभामुख महरा
सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासमा आवश्यक कानूनी सुधारका लागि आफ्नो पूर्ण सहयोग रहने बताएको छ।
नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट (नाट्टा)को ५२औँ वार्षिक साधारणसभाको अवसरमा आज एक आयोजित कार्यक्रममा उनले मुलुकको समग्र आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए। “विश्वभरका पर्यटकलाई नेपालका बारेमा प्रचारप्रसार गरी नेपाल आउन अभिप्रेरित गर्ने कार्यमा सक्रिय नाट्टाले खेलेको भूमिका सराहनीय रहेको समेत उनले बताए।
सभामुख महराले सम्भावना बोकेको देश नेपालको विकास गर्नका लागि नीतिगत, कानूनी क्षेत्रमा सुधार गर्नु जरुरी रहेको उनको भनाइ थियो। नेपाली काङ्ग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन प्रतिनिधि सभाको सदस्यको हैसियतमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले पर्यटक मात्र आएर नहुने बताउँदै गुणस्तरीय पर्यटक ल्याउनका लागि सरकारले पूर्वाधारको विकास गर्नु जरुरी रहेको बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाले धार्मिक पर्यटकीय दृष्टिकोणले पनि नेपाल महत्वपूर्ण गन्तव्यका रूपमा रहेकाले यसको प्रवद्र्धनमा लाग्न पर्यटन व्यवसायीलाई आग्रह गरे। “आर्थिक क्षेत्रको महत्वपूर्ण पाटो पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि सबै जुट्नुपर्ने उनले बताए।
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले निजी क्षेत्रसँग सहकार्यमा अगाडि बढे मात्र पर्यटन क्षेत्रको विकास हुने बताए। उनले भने, “सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठूलो सहयोग गरेको छ।”
नाट्टाका अध्यक्ष सिएन पाण्डेले विशाल जनसङ्ख्या भएका भारत र चीनको पर्यटक ल्याउन सकेमात्र पनि पर्यटन क्षेत्रले मुलुकको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। एनले भने, “सन् २०१८ मा झण्डै १२ लाख पर्यटक नेपाल आएकाले नेपालमा पर्यटन क्षेत्रमा थप उत्साह जागेको छ।”
अध्यक्ष पाण्डेले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि सरकारले पूर्वाधार क्षेत्रमा लगानी गर्नु जरुरी रहेको बताए। हवाई र विमानस्थलको विकास भएमात्र पर्यटन क्षेत्रको विकास हुने उनको भनाई थियो। रासस