खप्तड पुग्न ‘हेली प्याकेज’, कति पर्छ भाडा ?
धनगढी: यसपटक पनि हेलिकोप्टरमार्फत खप्तड पुग्ने प्याकेज सञ्चालन गरिने भएको छ। खप्तड होमस्टे झिग्राना र खप्तड एडभेन्चर टुर प्रालि डोटीले ‘हेली प्याकेज’ ल्याउन लागेको हो। माउन्टेन हेलिकोप्टरसँगको सहकार्यमा फागुन १ देखि खप्तड र बडीमालिका घुम्न हेली टुरको प्याकेज ल्याइएको होमस्टेका सञ्चालक दीपक खड्काले बताए।
उनका अनुसार खप्तड पुग्न दिपायलबाट प्रतिव्यक्ति १२ हजार र बडीमालिका घुम्न दिपायलबाट ३० हजारको प्याकेज सञ्चालन गरिने छ। अत्यधिक हिमपात भएकाले खप्तडमा अझै पनि ४ फिटभन्दा बाक्लो हिँउ रहेको छ। गत वर्ष हेलीटुर प्याकेजमार्फत १ सय ३५ जनाले खप्तड भ्रमण गरेका थिए।